कन्काई नगरपालिका क्‍वाटरफाइनल प्रवेश

करफोक : इलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोकमा जारी प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा कन्‍काइ नगरपालिका झापा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा देउमाइ नगरपालिका इलामलाई ६-२ को सानदार जित निकाल्दै कन्काई आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको शुरुवाती तेस्रो मिनेटमा देउमाईका अमर लिम्बुको गोलले अग्रता लिएकोमा कन्काईका सोनाम देवानले आठौं मिनेटमा गरेको गोलले खेललाई बराबरी गरेका थिए | लगातार कन्काईका सोनाम देवानले खेलको ११ औं र ४५ औं मिनेटमा गोल गरी खेललाई ३-१  को अग्रता दिलाएका थिए |

देउमाईका अमर लिम्बुले पुनः खेलको ४९ औं मिनेटमा गोल गरी ३-२ को अन्तरमा ल्याए । तर पुन: कन्काईका रोहण कार्कीले खेलको ६५ औं, ६९ औं र ७४ औं मिनेटमा लगातार तीन गोल गरी आफ्नो ह्याट्रिक मात्र पूरा गरेनन्, टिमलाई ५-२ को अग्रता दिलाउन सफल बने । ७६ औं मिनेटमा कन्काईका बुद्धिलाल टुडुले गोल गरी टिमलाई ६-२ गोलको जित निश्‍िचत दिलाएका थिए ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल भद्रपुर नगरपालिका झापा र मेचीनगर नगरपालिका झापाबीच हुनेछ ।

खेलकुदको माध्यमबाट विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा इलाम, पाँचथर र झापाका ११ नगरपालिका (टिमको) सहभागिता रहेको छ । विजेताले नगद एक लाख २५ हजार र उपविजेताले नगद ८५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनल ३ चैतमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार