नयाँ बुलन्द
झापा : झापाको कमल गाँउपालिका-५ स्थित सगुन युवा क्लवमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गरिएको छ । जिल्ला खानेपानी डिभीजन कार्यालय, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र क्लवको साझेदारी रु ५ लाख ६० हजार रुपैयाको लागतमा शौचालय निर्माण गरिएको हो ।
नवनिर्मीत शौचालयको शनिवार एक कार्यक्रमका बीच कमल गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर निरौलाले उद्घाटन गरे ।
महिला र पुरुषको छुट्टाछुट्टै दुई कोठा भएको सो शौचालय निर्माण गर्न डिभीजनको रु ५ लाख , क्लवको रु ५० हजार र खानेपानी समितिको रु १० हजार रुपैयाको लगानी रहेको लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारीले बताईन् । त्यस अवसरमा शौचालयको साँचो क्लवलाई हस्तान्तरण समेत गरिएको थियो ।
खानेपानी समितिको सक्रियता तथा खुल्ला दिशापिसाव मुक्त गाँउपालिका बनाउन क्लवमा सार्वजनिक शौचालय निर्माण गरिएको वडाध्यक्ष निरौलाले बताए ।
प्रत्येक मंगलवारका दिन हटिया लाग्दै आएको क्लव परिषसरको मंगलवारे वजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएपछि त्यस क्षेत्रमा हाटवजार भर्न आउने
सर्वसाधारणहरुलाई शौच गर्न सुविधा पुग्ने तथा शौचालयलाई दुर्गन्धित हुन नदिने क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले जानकारी दिए ।
सोहि अवसरमा क्लवको आन्तरिक स्रोतबाट निर्मीत टेवलटेनिसको टेवलको समेत उद्घाटन गरिएको थियो ।