इलाम नगर शिक्षा नियमावली २०७४ संसोधन सहित पारित

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका नगरकार्यपालिकाको आइतबार बसेको बैठकले इलाम नगरपालिकाको विद्येयक समितिबाट पेश भएको इलाम नगरपालिका शिक्षा नियमावली २०७४ लाई संसोधन सहित पारित गरेको छ ।

नियमावलीमा नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा शिक्षा समिति, वडाध्यक्षको संयोजकत्वमा वडा शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा आधारभुत तह उत्तीर्ण परीक्षा सञ्चालन तथा समन्वय समिति, वडाध्यक्षको सिफारिसमा अभिभावक, चन्दादाता, बुद्धिजीवि, समाजसेवी मध्येबाट नगरकार्यपालिकाले मनोनित गरेको ब्यक्तिको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समितिको गठन हुने ब्यवस्था रहेको छ ।

नियमावलीमा एक सामुदायिक विद्यालय एक बाल विकास केन्द्रको अवधारणा उल्लेख गरिएको छ । नियमावलीमा अनुमति नलिइ शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने ब्यवस्था गरिएको छ । यस नियमावलीमा १ सय ११ वटा नियम र १६ वटा अनुसुचीको ब्यवस्था रहेको छ ।

त्यसैगरी इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच आपसी सिकाइ र अनुभव आदान–प्रदान गर्दै स्रोत साझेदारीको माध्यमबाट दुवै नगरपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ पर्यटन विकास, कृषिमा आधुनिकीकरण, संस्थागत सिकाइ आदानप्रदान, भाइचारा तथा भात्तृत्व विकास, विपद् ब्यवस्थापनमा सहयोग जस्ता समृद्धिका आधार पक्षको माध्यमबाट दुवै नगरलाई समृद्ध बनाउन भगिनी सम्बन्ध स्थापना सम्बन्धी सम्झौता–पत्रको मस्यौदा धरान उपमहानगरपालिकामा पठाउने निर्णय गरेको छ ।

यसैगरी इलाम सदरमुकाम स्थापनाको २०० वर्षगाँठ मनाउने सन्दर्भमा १ हजार १ सदस्यीय मुल समारोह समिति रहने गरी, इलाम जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारी सल्लाहाकार रहने गरी इलाम नगरपालिकाका प्रमुखको संयोजकत्वमा सचिवालय समिति बनाउने निर्णय गरेको छ ।

यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितको संयोजक कार्यपालिकाका सदस्य गीताराम विश्यकर्मा आर्थिक विकास समिति संयोजक नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ्ग, सामाजिक विकास समितिको संयोजक कार्यपालिका सदस्य सीता रिजाल, पूर्वाधार विकास समितिको संयोजक कार्यपालिका सदस्य श्यामकमल मुखिया, वातावरण तथा विपद् ब्यवस्थापन समितिको संयोजक वडाध्यक्ष नुतनदेव दुलाल रहने गरी विभिन्न विषयगत समितिहरुको निर्माण गरिएको छ । नगरकार्यपालिकाको बैठक इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार