लोकतन्त्र र समृद्धिको निम्ती कांग्रेसलाई जिताउन जोड

नयाँ बुलन्द

झापा : लोकतन्त्र र मुलुकको समृद्धिको निम्ती कांग्रेसको बिकल्प नभएको दमकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेस दमक नगर समितिले सोमबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले बाम गठबन्धन अधिनायकबाद ल्याउनको लागि भएको भन्दै लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई मतदान गर्न आव्हान गरेका हुन् ।

कांग्रेस नगर सभापति रोशन विष्टको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वार डाक्टर खगेन्द्रपाण्डव अधिकारीले आगमी निर्वाचन लोकतन्त्र र अधिनायकबादको वीचको जनमत संग्रह भएको औल्याए । उनले लोकतन्त्र र मुलुकको समृद्धिका लागि जनताले कांग्रेसलाई जिताउने बताए  ।

नेपाली जनताले राणाहरुको अधिनायकबाद र पञ्चायतको अधिनायकबादलाई परास्त गरेको बताउँदै अधिकारीले भने, ‘कम्युनिष्टहरुको साम्यबादी अधिनायकबाद सफल हुने छैन् ।’ अधिकारीले आसन्न निर्वाचनबाट कांग्रेसले नै बहुमत दिलाउने जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार महेन्द्रकुमारी सुब्बा, प्रदेश सभा ‘ख ’का उम्मेद्वार राजनबहादुर ढुंगाना लगायतले लोकतन्त्र जोगाउन र सबै नागरिकहरुलाई अधिकार सम्पन्न गराउन जनताले रुख चिन्हमा भोट हाल्न जोड दिएका थिए । त्यस अवसरमा पार्टीका वडासभापतिहरुले वडाको चुनावी बस्तुस्थितिका बारेमा बोलेका थिए ।

आजदेखि वडातहमा घरदैलो

कांग्रेसले आज मंगलवारदेखि दमकमा घरदैलो शुरु गर्देछ । नगर सभापति रोशन विष्टका अनुसार दमक वडा नम्बर १ देखि मंसिर ७ गतेसम्म वडास्तरमा घरदैलो शुरु गरिदै छ । नगर सभापति विष्टले पहिलो चरणमा उम्मेदवारसहितको घरदैलो चुनावी कार्यक्रम सञ्चालन गरिएको बताए । पार्टीले यसअघि वडातहमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन प्रचार प्रसार समति गठन गरिएको छ ।

जनमुक्तिको निर्वाचन परिचालन समिति

राष्ट्रिय जनमुक्ति पार्टी झापा क्षेत्र नम्बर ५ ले आगमी मंसिर २१ गते हुने निर्वाचनमा आफ्नो उम्मेद्वारको पक्षमा प्रचार प्रसार गर्न सोमबार निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कमल गाउँपालिकास्थित लखनपुरमा एक कार्यक्रमको आयोजना गरि जनमुक्ति पार्टीले क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर जिमीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सह –संयोजकमा मन बहादुर थापा मगर र सदस्य सचिवमा धनराज राई रहेका छन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष मोहन धिमालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार पदम जवेगु, संघीयसभा सदस्य लोकप्रसाद कन्दङवा लगायतले पहिचान र सह अस्तित्वको लागि जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्न आग्रह गरेका थिए ।

पार्टीका सांस्कृतिक मोर्चा अध्यक्ष कैलाश थापा मगरले सञ्चालन गरेको सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी जनमुक्तिमा प्रवेश गर्ने नयँशक्तिबाट उदय प्रकाश राई, एमालेबाट प्रमिला राई र माओवादी केन्द्रबाट धनी मगरलाई प्रवेश  गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार