दिल्लीमा एक नेपाली युवती ३० जनाबाट बलात्कृत

काठमाडौ : दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् ।

करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ ।

जीबी रोडस्थित एक वेश्यालयमा छापा मार्ने क्रममा ती महिला फेला परेको बताइएको छ । पीडित महिलाको पहिचान खुलाइएको छैन । ती महिलालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनलाई दुबईमा रोजगारी दिलाइदिने आश्वासन दिएर नेपालबाट दिल्ली ल्याइएको हो ।

सो अखबारका अनुसार ती महिलाले भनिन्, ‘यसअघि पनि एक पटक प्रहरीले छापा मार्ने हल्ला चलेको थियो, मलाई आशा लागेको थियो कि अब म यहाँबाट निस्कन सक्छु, तर साहुनीले हामीलाई प्रहरीको नजरबाट जोगाउँदै अन्तै लगेर राख्न सफल भइन् ।’

दिल्ली महिला आयोगका मिडिया सल्लाहकार भूपिन्दर सिंहका अनुसार ती महिलालाई बेश्यालयमा राखिएको थियो । ‘उनलाई कयौं दिनसम्म भोकै राखिएको रहेछ,’ सिंहले भने, ‘अहिलेसम्म उनलाई ३० पुरुषसँग यौनसम्पर्कका लागि बाध्य पारिएको रहेछ ।’

उनलाई वेश्यालयबाट निकाल्नका लागि गैरसरकारी संस्थाले पहल गरेर प्रहरीसमक्ष उजुरी गरेको थियो । प्रहरीले उक्त वेश्यालयकी संचालिकालाई समेत गिरफ्तार गरेको छ ।

नेपालबाट प्रत्येक वर्ष ५ हजारदेखि १० हजारको संख्यामा चेलीहरुलाई भारतमा लगेर बेच्ने गरेको भारतीय गैरसरकारी संस्थाको अनुमान छ ।

-हिमालीपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार