तेस्रो माइभ्याली गोल्डकपको तयारी तीब्र

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डप तेस्रो संस्करणको तयारी तीब्र पारिएको छ ।

आगामी १७ चैतदेखि हुन लागेको गोल्डकप सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुने गोल्डकपको सबै तयारी तीब्र पारिएको इलाममा बुधबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

गोल्डकपमा भारतका दुई तथा नेपालका ए डिभिजनका आठ वटा टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्गीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगितामा भारतको दुर्गा स्टिल कलकत्ता, ग्लोबल एफसी असाम, रमपम झापा–११, रुपेन्दही–११, संकटा क्लब, लक्ष्मी हुन्डाई, मनाङ मस्याङदी, विभागीय टिमहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन् ।

यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ । यस संस्कणको विजेताले नगद चार लाख र उपबिजेताले दुई लाख ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अघिल्लो संस्करणको विजेताले नगद तीन लाख रुपैयाँ र उपविजेताले नगद एक लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । गोल्डकपको मुख्य प्रायोजकको रूपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्का र यमाहा रहेका छन् । त्यसैगरी सह–प्रायोजक जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, पाथिभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रवर्द्धन समिति लगायत रहेका छन् ।

दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताका स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटबल खेल सम्पन्न गर्नमा सहयोगी हुन् माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले  बताए ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगिताको फाइनल २६ चैतमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार