काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर सीडीओ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाउन भनेका छन् । उनीहरुलाई फिर्ता बोलाइएको नभई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सोमबार प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।