सुमिना वनेम
माङसेबुङ : माङसेबुङ युथ सोसाइटी इलामको बाँझोस्थित माङसेबुङमा आयोजित पवित्रहाङमा गोल्डकप महिला फूटबल प्रतियोगिता सातौं संस्करणको च्याम्पियन बनेको छ ।
सोमबार सम्पन्न फाइनलमा उपाधिका लागि वलियो दावेदार न्युस्टार क्लब किर्तीपुर मोरङलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै माङसेबुङले उपाधि कब्जा गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभई बराबरीमा खेल सकिएपछि टाइब्रेकरका आधारमा विजेता निर्धारण गरिएको थियो । न्युस्टारकी मीना राना मगरको प्रहार माङसेबुङकी गोलरक्षकले बचाउ गरेकी थिईन् ।
दुवै टिमले खेल अवधिभर आक्रामक खेल प्रदर्शन गरेका थिए । रोयल एफसी सिलिगुढीकी स्टार सुस्मिता लेप्चाको साथ मैदान उत्रेको माङसेबुङ पहिलो हाफमा हाबी भएको थियो । नेपाल महिला फूटबल अन्डर १९ बाट विभिन्न देशमा खेल प्रदर्शन गरिसकेकी न्युस्टारकी गोल मेसिन सरु लिम्बू भने चल्न सकिनन् । माङसेबुङको डिफेन्स लाईनलाई व्यस्त पारिन्, सरुले । उता सुस्मिताले धेरैपल्ट पाएको अवसर सदुपयोग गर्न सकिनन् । डिफेन्सको कडा निगरानिमा रहेकी सुस्मिताले अपेक्षित खेल प्रदर्शन गर्न सकिनन् । माङ्सेबुङले पाएको आधा दर्जन कर्नर र राम्रो स्थानमा पाएको तीन फ्रिकिक सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा न्युस्टार खेलमा फर्कियो । आक्रमण निरन्तर जारी राख्यो । शारीरिक रुपमा बलिया र सिक्किमका खेलाडीहरुको वर्चश्व रहेको माङसेबुङले दर्शकको राम्रो समर्थन थियो । नेपाल राष्ट्रिय टोलीका खेलाडीहरुको वर्चश्व रहेको न्युस्टारले पाएको आधादर्जन कर्नरलाई सदुपयोग गर्न नसकेपछि उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो ।
जितसँगै माङसेबुङले नगद ६१ हजार ६१ रुपैयाँ साथमा १ तोला सुन र ८० तोला चाँदीजडित ट्रफि हात पार्यो । उपविजेता न्युस्टारले नगद ३५ हजार ६१ रुपैयाँमा चित्त बुझायो ।
प्तियोगितको उत्कृष्ठ खेलाडी विजेता माङसेबुङकी शिवानी शर्मा, गोलरक्षक विसीका राई, डिफेन्डर उपविजेता न्यस्टारकी प्रिया तामाङ घोषित भईन् । सर्वाधिक गोलकर्ता उपविजेता न्युस्टारकी सरु लिम्बू घोषित भईन् । उनले प्रतियोगिताभर नौ गोल गरेकी थिईन् । उनीहरु प्रत्येकलाई तीन हजार पाँच सय ६१ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा भएको प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमको सहभागिता थियो ।
गोल्डकप अन्तरगत म्याराथुन दौड, म्युजिकल चेयर, हाँफी फुटाउने छेलो हान्ने खेलहरु सञ्चालन भए । म्याराथुनमा रञ्जु नेम्बाङ (दमक झापा) प्रथम, सुजता सेलिङ (महमाई इलाम) द्वितीय, डिल्लीहाङमा माबोहाङ (बाँझो इलाम) तृतीय र तागेरा लाबुङ (बाँझो इलाम) सान्तवना भईन् ।
म्युजिकल चेयरमा यमुना तेबेबुङ (बाँझो इलाम) प्रथम र सुजता सोङमी (बाँझो इलाम) द्वितीय भईन् । हाँडी फुटाउनेमा सरुहाङमा सेलिङ विजेता बनिन् । छेलो हान्नेमा दीलु साँवा (बाँझो इलाम) प्रथम, हिलीहाड्मा माबोहाङ (बाँझो इलाम) द्वितीय र सिर्जना पतङवा तृतीय बनिन् ।
सातौं संस्करणको गोल्डकप गत २३ माघदेखि सञ्चालित थियो ।