सरकार उल्टो दिशामा जाँदैछ : अध्यक्ष यादव

नयाँ बुलन्द

सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार र प्रमुख तीन दल स्थानीय निर्वाचनको नाममा उल्टो दिशाबाट हिंड्न खोजिरहेको टिप्पणी गरेका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा उनले यस्तो कुरा बताएका हुन् । परिमार्जन सहितको संशोधन प्रस्ताव पारित गरेर देशलाई निकास दिनुपर्नेमा जोड दिँदै उनले भने ‘परिमार्जित प्रस्ताव पास गरेर पहिले संघीय संसदको चुनाव र संघीय संसदले प्रादेशिक चुनाव तथा प्रदेशले संघीय चुनाव गराउँछ, अहिले यो चुनावको कुनै तुक छैन ।’

वर्तमान अवस्थामा स्थानीय निकायको निर्वाचन गराउन खोजिए देशमा ठूलो द्वन्द्व निम्तिने खतरा रहेको भन्दै यसको कुनै औचित्य नरहेको उनले तर्क दिए । ‘वर्तमान सरकार र प्रमुख तीन दलप्रति व्यग्य गर्दै उनले भने ‘भातरको कुनौलीमा दिल्ली सरकार आएर स्थानीय चुनाव गर्न आउँदैन, विहार सरकारले गराउँछ तर नेपालमा केन्द्रले स्थानीय निकायको चुनाव गराउने कुरा आफैमा हास्यास्पद छ ।’

‘वर्तमान सरकार र प्रमुख तीन दल स्थानीय निर्वाचनको नाममा उल्टो दिशाबाट हिंड्न खोजिरहेको छ’ अध्यक्ष यादवले भने ‘जबरजस्ती चुनाव गराउन खोज्नु भनेको देशलाई द्वन्द्वतर्फ धकेल्नु हो ।’ संघीय लोकतान्त्रिक प्रणालीको प्रक्रिया अन्तर्गत अगाडि बढ्न सरकार र प्रमुख तीन दललाई आग्रह गर्दै उनले वर्तमान संविधानमा मधेशी, आदिवासी, शिल्पी, जनजाती, थारु, मुस्लिमलगायतका समुदायको अधिकारको सुनिश्चितता नगरेसम्म यसलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धनका अध्यक्ष समेत रहेका नेता यादवले बताए ।

स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन अन्यायपूर्ण रहेको भन्दै मधेशको जनसंख्या ५१ प्रतिशत रहेको तर्क राख्दै उनले भने ‘ २०६८ सालको जनगणना अनुसार मधेशमा ५१ प्रतिशत जनसंख्या छ तर गाउँपालिका र नगरपालिकाको निर्धारणमा भने २५ प्रतिशतमा निर्धारण गरेको छ ।’ आयोगको प्रतिवेदन प्रतिवेदन नसच्याईएसम्म मान्य नहुने उनले बताए । ठूला पार्टीहरुले देशमा संघीयता कार्यान्वयन हुन दिने पक्षमा नरहेको भन्दै यसलाई समाप्त पार्ने खेलमा लागेको उनले आरोप लगाए ।

संघीय समाजवादी फोरमकी केन्द्रीय उपाध्यक्ष एवम् २ नम्वर प्रदेश प्रमुख रेणु यादवले यथास्थितमा संविधान कार्यान्वयन गर्न नसकिने भन्दै परिमार्जनसहितको प्रस्ताव पारित गरी संशोधन नगरेसम्म कुनै पनि हालतमा नस्वीकार्ने बताईन् । स्थानीय निकायको निर्वाचनको कुरा गरे जनताको आँखामा छारो हाल्ने काम गरिरहेको बताई ।

प्रदेश सचिव शम्भु झाले मधेशी, आदिवासी, शिल्पी, जनजाती, मुस्लिम, अल्पसंख्यकलगायत विभेदमा पारिएका समुदायको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताए । पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सांसद लक्ष्मी चौधरी, फोरमका केन्द्रीय सदस्यहरु चित्तनारायण यादव, अशोक यादव, डिबी नेपाल, सुमन चौधरी, नेकपा माओवादी केन्द्रका नेता असर्फी सदा, फोरम सुनसरीका अध्यक्ष महेन्द्र यादव, तराई मधेश प्रदेशका सदस्यहरु सुुखराम यादव, राधेश्याम पण्डित, युसुफ अलि, नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सबिता यादव, उपेन्द्रनारायण चौधरी ‘पगडीवाला’, महेन्द्र चौधरी, दिपक यादव अर्जुन राम, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादवलगायतले मन्तव्य व्यक्त गरे ।

सोही समारोहमा तेस्रो मधेश आन्दोलनका सहित राजीव राउतकी पत्नी निलम देवी राउत र वीरेन्द्र रामका पिता सकलदेव रामलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । अधिवेशनमा विभिन्न जातजातीको झाँकी प्रदर्शनका साथै राष्ट्रिय गीत तथा नृत्य प्रस्तुत गरिएको छ । कार्यक्रम सञ्चालन जिल्ला सचिव उमेश कुमार यादव र सह–सचिव उपेन्द्र साहले गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार