सुमिना वनेम
माङसेबुङ : न्युस्टार किर्तीपुर मोरङ विजयी इलामको बाँझोस्थित माङ्सेबुङमा जारी पवित्रहाङ्मा महिला गोल्डकप फूटबल प्रतियोगितमा विजयी बनेको छ ।
सोमाबार भएको खेलमा माङमालुङ गर्ल्स स्टार इलामलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै न्युस्टारले विजयी बनेको हो । जितका लागि न्युस्टारकी कप्तान सरु लिम्बू एक्लैले ५ गोल गरेकी थिईन् । मुना लावतीले २ गोलको योगदान गरेकी थिईन् । खेलमा न्युस्टारकी कप्तान सरु लिम्बूले चामत्कारिक प्रदर्शन गरेकी थिईन् ।
प्रतियोगिता सुरु भएको चौथो मिनेटमा नै न्युस्टारकी मुना लावतीले पहिलो गोलके खाता खोलिन् । १३ औं मिनेटमा न्युस्टारकी कप्तान सरु लिम्बूले सानदार गोल गरी टिमलाई २-० को अग्रता दिलाईन् । त्यसको ३ मिनेट पनि बित्न नपाउँदै १६ औं मिनेटमा पुन: सरुले नै गोल गरी अग्रता तेब्बर बनाईन् । २३ औ मिनेटमा पुन: सरुले गोल गर्दै टिमलाई ४-० को अग्रता मात्र दिलाईनन्, आफ्नो ह्याट्रिक समेत पूरा गरिन् ।
मध्यान्तर अघि ४ गोलले पछि परेको माङमालुङले मध्यान्तर पछि पनि खेल सुधार गर्न सकेन । उसले मध्यान्तर पछि पहिलो मिनेटमा नै फेरी गोल खाएको थियो । ३७ औं मिनेटमा न्युस्टारकी मुनाले गोल गरेकी थिईन् । विपक्षीको लगातार दवावमा परेको माङमालुङले रक्षात्मक समेत खेल्न सकेन । ४५ औं मिनेटमा पुन न्युस्टारकी कप्तान सुरुले गोल गर्दै ६-० को अग्रता दिलाईन् । ३ मिनेट पछि पुन: सरुले नै थप गोल गरी आफ्नो टिमलाई ७-० को जित निश्चित दिलाएकी थिईन् ।
न्युस्टार यसअघिको प्रतियोगितामा एकपटक फाईनल पुगिसकेको टिम हो । गतवर्ष भने सेमीफाईनलबाटै बाहिरिएको थियो । त्यसो त माङमालुङ पहिलो संस्करणको च्याम्पियन हो । माङमालुङले २०६७ मा उपाधि चुमेको थियो ।
खेलको म्यान अफ द म्याच विजेता न्युस्टारकी सुरु लिम्बू घोषित भईन् ।
प्रतियोगिता अन्तरगत मंगलबार नालिफुङ्वा युथक्लब मोरङ र शिवसतासी स्पोर्टिङ क्लब झिलझिले झापाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
फूटबलको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।
किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।
त्यस्तै गोल्डकपमा फूटबलका साथै अन्य खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्युजिकल चियर, लठ्ठा तान्ने र हाँडी फोड्ने खेलहरु सञ्चालन हुनेछन् । म्युजिकल चियरमा प्रथम हुनेले नगद दुई हजार ६१, द्वितीय हुनेले नगद एक हजार पाँच सय ६१ र तृतीय हुनेले एक हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् ।
लठ्ठा तान्नेमा प्रथम हुनेले नगद पाँच हजार ६१ र द्वितीय हुनेले नगद तीन हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै हाँडी फोड्नेमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६१ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । अन्य खेलहरु २ फागुनमा फूटबलको फाइनल भन्दा अगाडि सञ्चालन गरिने आयोजकले जनाएको छ ।