नयाँ बुलन्द
गजुरमुखी : इलामको गजुरमुखीमा स्वर्गीय हर्कबहादुर देवानको सम्झनामा ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता २०७३’ सुरु भएको छ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा सुरु भएको खेलमा आयोजक टिमले विजयी सुरुआत गरेको छ । बुधबार भएको उद्घाटन खेलमा गजुरमुखी-६ लाई १-० ले पराजित गर्दै आयोजक भुलभुले विजयी भएको हो ।
जितका लागि आयोजकका विनोद लिम्बूले खेलको ५५ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले गोलले टिमलाई जित मात्र दिलाएन, प्रतियोगिताकै पहिलो गोलकर्तामा आफूलाई दर्ता समेत गरे ।
गजुरमुखी-९ तोभाङस्थित बरभञ्ज्याङ आभारभूत विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगतिमा पाँचथर र इलामका गरी २२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो खेलमा पानीटार क्लब र रेडस्टार क्लब इभाङ्गबीच तथा दोस्रो खेल बारुङ फूटबल क्लब देउमाई नगरपालिका र कोसिस फूटबल क्लब कुरुम्बाबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजन (प्रथम र द्वितीय पुरस्कार) स्वर्गीय हर्कबहादुर देवानको परिवारले गरेको छ । देवानको परिवारले नगद ६० हजार रुपैयाँ उपलब्ध गराएको छ । देवानका परिवारबाट लक्ष्मी देवान, लिला राई, सुमित राई, कोकिला देवान, विजय देवान, सृजना देवान, रोहन देवान, रोशा देवान र विशाल देवानले आर्थिक सहयोग उपलब्ध गराएका हुन् । समाजसेवी हर्कबहादुरको गत भदौ ४ गते ६९ वर्षको उमेरमा निधन भएको थियो । उनकै स्मृतिमा परिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।
त्यस्तै प्रतयोगिता सञ्चालनका लागि अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गरेका छन् । बैदेशिक रोजगारीका शिलशिलामा दक्षिण कोरियामा कार्यरत तोभाङ्गबासी युवाहरुको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।