माघ चौथो सातादेखि पवित्रहाङ्मा गोल्डकप

तस्विर फायल

नयाँ बुलन्द

इलाम :  इलामको बाँझोस्थित माङ्सेबुङमा पवित्रहाङ्मा महिला गोल्डकप सातौं संस्करण खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा हुन लागेको गोल्डकप खेलकुद प्रतियोगितामा महिला फूटबलका साथै अन्य खेलहरु पनि हुनेछन् ।

गोल्डकप अन्तरगत आगामी माघ २३ गतेदेखि महिला फूटबल प्रतियोगिता हुनेछ । फूटबलको विजेता टिमले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्रदान गरिनेछ।

फागुन १ सम्म सञ्चालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै अन्य खेलहरुमा म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्‍ने, हाँडी फोड्ने लगायतका खेलहरु आयोजना गरिनेछन् । किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा अवस्थित माङ्सेबुङमा सरकारी लगानी विनानै वर्षेनी ठूल्ठूला कार्यक्रमहरु सञ्चालन गरिदैं आएको छ ।

२०६७ सालदेखि आयोजना गरिदैं आएको गोल्डकप प्रतियोगिता यसवर्ष पनि आफ्नै लगानीमा सञ्चालन गर्न लागिएको आयोजकका सचिव मनकुमार आङ्बुहाङले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्‍न गर्न  करिब १० लाख रुपैयाँ लाग्‍ने  अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार