इलाम : गत डिसेम्बरमा भारतको गोवामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा पदक जित्ने इलामका खेलाडीहरुलाई सम्मान गरिएको छ ।
बहुवन डोजो इरौटार र सितोरियो कराँते जिल्ला शाखाले संयुक्त रुपमा समारोहको आयोजना गरी ६ जना खेलाडीलाई प्रति खेलाडी ६/६ हजार नगद सहित सम्मान गरिएको अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ राईले जानकारी दिए । खेलाडीहरुको सम्मानको लागि पूर्व कराँते खेलाडी अन्जना सुब्बाले ३० हजार र अभिभावक बाघसिंह तामाङले नगद ६ हजार रुपैयाँ सहयोग गरेका थिए।
सोही समारोहमा राष्ट्रिय निर्णायक विर्ख सुब्बा र अन्जना सुब्बालाई समेत सम्मान गरिएको थियो । डिसेम्बर ९ देखि ११ सम्म गोवामा भएको कराँतेमा इलामबाट सहभागी ६ जना खेलाडीहरुले नेपालका लागी ६ स्वर्ण र २ रजत पदक दिलाएका थिए ।
सितोरियो कराँते जिल्ला शाखा इलामको आयोजनामा फेब्रुअरीको पहिलो साताबाट सूर्योदय नगरपालिकामा हुने इन्डो–नेपाल कराँते च्याम्पियनसिपको तयारी भइरहेको रेफ्री चाम्लिङले जानकारी दिए।