सुमन तिमल्सिना
विराटनगर : सातौं राष्ट्रिय खेलकुद अन्तरगत शनिबारदेखि सुटिङ खेल त्रिपालमुनी सुरु भएको छ । समयमा नै खेलस्थलको काम पूरा हुन नसक्दा सुटिङ प्रतियोगिता त्रिपाल मुनी सुरु भएको हो ।
मोरङको झापा बैजनाथपुरमा नवनिर्मित सुटिङ रेन्जको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरे । पूर्वमन्त्री पौडेलले सुटिङ रेन्जको उद्घाटन गरेर खेलसमेत सुरु गरेका हुन् । तर सुटिङ रेन्जको छाना हाल्ने काम अहिलेसम्म भइरहेकाले खेल सुरु हुन ढिलो भएको थियो ।
शनिबार भएको महिला पेस्तोलमा नेपाल आर्मीकी हेमा चौधरी ३ सय ४९ अंक ल्याएर प्रथम भइन् । त्यस्तै नेपाल प्रहरीकी सविता बस्नेत ३ सय ४८ अंक ल्याएर द्वितीय र पूर्वाञ्चलकी कमला राई ३ सय १९ अंक ल्याएर तृतीय भइन् ।
हक्की :
विराटनगरको डिएबी स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ४ वटा टिमले जित हासिल गर्न सफल भए । प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयो ।
नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारायण चौधरी, स्यामीयल राई, राम साहले १/१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल गरेका थिए ।
त्यस्तै दोस्रो खेलमा मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले पराजित गरी सुदूरपश्चिमाञ्चलले जित हासिन गर्न सफल भयो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरेका थिए । मध्यपश्चिमाञ्चलको तर्फबाट सलमान इद्रीसी र सहिद अलिले गोल गरे ।
महिला तर्फ भएको पहिलो खेलमा मध्यमाञ्चललाई ४–१ गोलको अन्तरले पराजित गर्दै सुदूरपश्चिमाञ्चलले जित हासिल ग¥यो । सुदूरपश्चिमाञ्चलको तर्फबाट सिमा चौधरी र नरबदा जोशीले १/१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् । सुदूरपश्चिमाञ्चलले पुरुष र महिला तर्फको पहिलो दिनको खेलमा दोहोरो जित हात पार्न सफल भए ।
दोस्रो खेलमा पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पराजित गर्दै पश्चिमाञ्चलले जित हासिल गरेको छ । पश्चिमाञ्चलको तर्फबाट कमला रानामगर र सोनी गुरुङ्गले २/२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम गरी १ सय ७६ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कबड्डीमा महिला :
मोरङ टंकिसिनवारी स्थित खेल मैदानमा जारी कबड्डी तर्फको शनिबारको खेलमा महिलातर्फ ४ र पुरुषतर्फ तीन खेल सम्पन्न भएका छन् । महिला तर्फको समूह ‘क’ अन्तगत भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ ।
नेपाली सेनाको टोलीले पश्चिमाञ्चलाई ६८/१६ अंकले पराजित गरेको हो । त्यस्तै महिला तर्फकै समूह ‘ख’ अन्तरगत भएको दोस्रो खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पराजित गरेको छ । सशस्त्र प्रहरीलाई ११/५२ अंकले पराजित गर्दै नेपाल प्रहरीले विजयी सुरुवात गरेको हो ।
उज्यालोबाट