काठमाडौं : संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता हुनु पार्टीको पहल र आन्दोलनको उपज भएको उल्लेख गरेको छ ।
ससफो नेपालको शुक्रबारदेखि राजधानीमा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ ।
‘धेरै लामो रस्साकस्सीपछि नेकपा माओवादी केन्द्र २०७३ जेठ २८ गते सरकारबाट बाहिरिएको छ । ओली सरकार नेपालको इतिहासकै चरम प्रतिक्रियावादी र नश्लवादी भएको परिप्रेक्ष्यमा हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं,’ प्रतिवेदनमा उल्लेख छ, ‘यो केही हदसम्म हाम्रो पार्टीको पहल र आन्दोलनको उपज पनि हो ।’
प्रतिवेदनमा आफू अल्पमतमा परिसकेपछि पनि प्रधानमन्त्री ओलीले कुर्सी र सत्ता टिकाउनका लागि नानाथरिका हतकण्डा गरिरहेको उल्लेख गरिएको छ ।
‘आफू अल्पमतमा परिसकेपछि या त संविधानको धारा २९८(८) बमोजिम प्रधानमन्त्रीले राजीनामा दिनुुपथ्र्यो या त आफूमाथि संसदको विश्वास छ भनी आफैले संविधानको धारा २९८(१२) बमोजिम विश्वासको मत लिनुपथ्र्यो,’ श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘तर त्यसो नगरी अझै टिक्क सकिन्छ कि भनी ओलीले नानाथरिका हतकण्डा अपनाउदैछन् । अविश्वासको प्रस्ताव पारित भए पनि संविधानमा नयाँ सरकार गठन गर्ने प्रावधान नै नरहेको भन्दै आफैले बनाएको संविधानको व्याख्या गर्न क्लाइन्ट खोज्दै हिडेका छन् । उत्कृष्ठ संविधान बनाएँ भनेर ध्वाङ फुक्दै हिड्नेहरुका लागि यो लाजलाग्दो विषय हो ।’
ससफोले संविधानको धारा २९८(३) बमोजिम जसरी ओली प्रधानमन्त्री भए त्यही धारा अनुसार अब नयाँ प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।
नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भने आफ्नो पार्टीले ओलीविरुद्ध मतदान गर्ने भएको छ । ओलीविरुद्ध मतदान गरिए पनि आफूहरु संविधान पुनर्लेखन नभएसम्म सरकारमा नजाने उसले दाबी गरेको छ ।



















































