इलाम बजारको केन्द्र जहाँ हरेक सार्वजनिक कार्यक्रम हुने लाकुरी चौतारीमा बिहानैदेखि गठबन्धनका अनसनकारीहरूले कब्जा जमाएका थिए ।
गठबन्धनले काठमाडौंबाहेकका जिल्लाहरूमा पनि रिले अनसन गर्न सकिने निर्णय गरेको थियो ।
संघीय गठबन्धनको काठमाडौंमा जारी रिले अनसनको ऐक्यबद्धतास्वरुप इलाम जिल्लामा पनि १२ घण्टे अनसन बसिएको संघीय समाजवादी फोरम, नेपालका इलाम जिल्ला अध्यक्ष देबेन्द्र राईले बताए, ‘जारी अनसनलाई वैद्य माओवादीका जिल्ला नेताहरूले केही बेर अनसनमा नै बसेर समर्थन जनाएका छन् भने काङ्ग्रेसका जिल्ला सभापनि हिमालय कर्माचार्य पनि अनसनस्थल आएर आन्दोलनप्रति कांग्रेसको इलाम जिल्ला समितिको तर्फबाट समर्थन र शुभकामना व्यक्त गर्नुभयो ।’
अनसन बेलुकी ६ बजेसम्म चलेको थियो । अनसनमा ससफो इलाम जिल्ला समितिको अध्यक्ष देबेन्द्र राई, उपाध्यक्ष, बहतबहादुर आङ्देङ्बे, सचिव याम लिम्बु, ससफो लिम्बुवान प्रदेश समिति सदस्य छिटिङ तामाङ, संघीय लिम्बुवान पार्टीका इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङ्देन, केन्द्रीय सदस्य दीपछिरिङ लेप्चा र जिल्ला नेता रिपल राईलगायत नेता तथा कार्यकर्ताहरू अनसनमा रहेको बताइएको छ ।
काठमाडौंको शहिदमञ्चको रिले अनसनको ऐक्यबद्धतास्वरुप कास्की जिल्लाका गठबन्धनसम्बद्ध नेता तथा कार्यकर्ताहरू गत जेठ २६ गतेदेखि पोखरामा एक हप्ते रिले अनसन थालेका छन् । पोखराको सो अनसन पनि जारी छ ।


















































