नयाँ बुलन्द
काठमाडौं : बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् ।
अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनेर भ्रामक हल्ला चलेपछि परिवारले दुस्ख व्यक्त गरेको हो । यस्तो हल्ला निराधार भएको भन्दै ग्राण्डी अस्पतालले खण्डन गरेको छ ।

यसअघि उनलाई भारतको मेदान्त अस्पतालमा उपचार गराइएको थियो । एक महिनासम्म उपचार गरी उनी गत चैत १७ गते स्वदेश फर्किएका थिए । ८४ वर्षीय गुरुङमा अन्न नली, श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, पार्किन्सोनिजम लगायतका समस्या देखिएको छ ।
गुरुङले ‘सैयौं थुागा फूलका हामी‘’ बोलको राष्ट्रिय गीत र नेपाली सेनाको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो‘’ लगायत सयौं कालजयी चिरपरिचित गीतहरुमा संगीत भरेका छन् । त्यतिमात्रै होइन गुरुङका स्वर र संगीतबद्ध दर्जनौं गीत कालजयी छन् । गुरुङ संगीतकार मात्र नभई गीतकार, गायक र साहित्यकार पनि हुन् ।
सन् १९३८ फेब्ररी २६ मा भारतको दार्जिलिङमा जन्मेर नेपाललाई कर्मभूमि बनाएका गुरुङ सन् १९६९ मा नेपाल आएका थिए । सन् साठीको दशकमा नेपाल आएदेखि स्थायी रुपमा नै यतै बसेर नेपाली गीत, संगीतको क्षेत्रमा सेवा पु¥याएका गुरुङ नेपालीको मन–मनमा बसेका छन् ।



















































