
चेतन आङथुपो
चुलाचुली : इलामको चुलाचुली-४ मा अवस्थित तीनकुने पोखरी संरक्षणका लागि स्थानीयबासी जुट्न थालेका छन् । पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले पोखरी स्तरोन्नतीको लागि तीनकुने पौखरी सिसार क्षेत्र संरक्षण समिति सक्रिय बनेको हो ।
चुलाचुली गाविसबाट१५ सय मिटर उत्तरमा रहेको प्रकृतिको मोहक तीनकुने पोखरी चुरे वनको फेदीमा पर्दछ । घुम्न र मनोरञ्जन लिन वातावरण शान्त छ । आर्थिक वर्ष २०७१/०७२ देखि तीनकुने सिमसार क्षेत्र नेपाल सरकारबाट एक गाविस एक सिमसार निति लागुभएपछि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालु आवमा १३ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । पहिलो किस्ता निकास भएको पाँच लाख २५ हजारबाट माटो कटान र वाल निर्माणको काम भएको समितिका सचिव मुक्तिनाथ हुमागाइले जानकारी दिए ।
पञ्च वर्षीय योजना रहेको ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ मा मुख्य १३ जनाको कार्यसमिति रहेको छन् । अठ जना व्यक्तिको जग्गा सिमान जोडिएको पोखरी १५ कठ्ठा जमिनमा फिजिएको छ भने बीचमा टापु रहेर वरिपरी घुमेको देखिन्छ ।
तीनतिर चोसो देखिने पानीको चाप रहेको पोखरीलाई स्थानीयहरुले नै तीनकुने नाम राखेका हुन् । पोखरी स्थानीय गंगाप्रसाद लिम्बू, सुन्दर ओजी, विर्खसिंह शेर्मा, धनसिंह सम्बाहाम्फे, तिलकसिंह सम्बाहाम्फे, भीम मगर, चन्द्र राई, डम्बर मगरको जग्गामा फैलिएको छ । सबै जग्गाधनीले पोखरी फैलिएको जग्गा तीनकुने पोखरी सिमसार क्षेत्रलाई दिने लगायत विभिन्न विषयमा सहमत भई हस्ताक्षर गरी काम अगाडि बढाईएको छ । ‘तीनकुने पोखरी सिमसार क्षेत्र’ मुख्य समितिले सरकारको अनुदानलाई सही सदुपयोग गरी पर्यटकीय गन्तव्य बनाउन जग्गावालाहरुसँग आवश्यक समन्वय गरी काम गरिएको समितिका उपाध्यक्ष गंगाप्रसाद लिम्बुले बताए ।
‘पोखरीले छोएको वरिपरिको जति पनि जग्गा दिने, पोखरीमा अनिवार्य अडाइ फुट भन्दा कम पानी नसुकाउने, थप सिचाइँमा पानी लैजान पाउने, पर्यटकिय क्षेत्र लागू भएपछि ७५ प्रतिशत आम्दानी जग्गावला र २५ प्रतिशत आम्दानी सिमसार कोषमा रहने गरि कागजी सर्तमा हस्ताक्षर गरिएको छ’ उपाध्यक्ष लिम्बूले भने ।
तीनकुने पोखरीको विविध विशेषता छन् । पोखरीको आसपास हरियाली वन, पोखरीको बीचमा मन्दिर, ठूलो सालको रुख, तीन कुना बाट जरुवा पानी उम्रिने, कछुवा, दुर्लभ पन्छी, हरिण, मृर्ग र निगालै बाघ लगायतका जनवारहरु देख्न पाइन्छ । सिमसार क्षेत्र आसपासमा आदिवासी जनजाति समुदायमाको रहनसन र संस्कृतिलाई अवलोकन गर्ने समेत पाइन्छ ।
पोखरीको स्थापनाको सन्दर्भमा स्थानीयको ठूलो योगदान छ । स्थानीय मनविर लिम्बूका अनुसार १७ घरले सिचाइँको लागि सुरु गरेको तीनकुने पोखरीका २०४९ साल माघ १९ गते ६५ फिट भन्दा गहिरो होली थियो । त्यो होली मनविर लिम्बूको अग्रसरमा खड्गबहादुर लिम्बू, सिंहबहादुर राई, हरिप्रसाद हुमागाई, भिरगाउँले लगायत १७ घरधुरीले श्रमदानमा गरि होली पुरेपछि पोखरीको आकारमा पानी जमिन थालेको थियो ।
०५१ सालतिर तत्कालिन जिल्ला सभापति हरि खनालनले पहिलो अवलोकन गरेपछि तीन कुने पोखरीको लागि जिल्ला विकास समिति र जिल्ला भू–संरक्षण कार्यालयले १८ वटा जाली बाँधबाध्नको लागि ढुवानी खर्च सहित उपलब्ध गराएको थियो । त्यस्तै रमक चेम्जोङ संसाद भएको वेला एक लाख २५ हजार बजेट तीन कुनै पोखरी संरक्षणको लागि पाप्त भएपनि प्रभावकारी काम भएन । कामको ठेक्का पुरान राई र थाङसाङ् लावतीले लिएका थिए । लिम्बू भन्छन्, ‘उनीहरुले जम्मा ८ ट्रिफर गिट्टी ल्याए, स्थानीयले श्रम र काठ उपलव्ध गराएको थियो । त्यसबाट एउटा गेट बनाए । बाँकी पैसा के–के गरे कामको पारदर्शीता समेत भएन ।’
जान्नेमान्ने र पार्टीकै विश्वासिलो मानिसहरुले बीचबीचमा आएको लाखौं बजेट हिनामिना गरेको स्थानियवासीहरुले दावी गरेका छन् । स्थानीय नेत्र देवान भन्छन् ‘संरक्षरण र प्रवधन गर्ने योजना नीति ल्याएर राजनीतिक दलहरुलै तीनकुने पोखरी दुध दुहुने गाई बनाएका छन् ।’ गाउँमा पढेलेखेका, जान्नेबुझनेहरु नभएकाले त्यसमा विडम्बना स्थानीय उपभोक्ताबाट थप लगानी गर्ने अवस्था नरहेकाले राम्रो दातासंस्थाहरु फर्किएका थिए ।
पोखरीको उत्तरमा वनजंगलको डाडाँपाखा नजिक रहेको तीनकुने पोखरीको सौन्दर्यलाई वनले गर्दा थप मनमोहक बनाएको छ । ४२ घरधुरी लाभान्वित हुँदै आएको पोखरीको पानी सिचाइको स्रोत मात्र बनेको छैन्, रमणीय र पर्यटकीय स्थलको सम्भावना बढ्दै आएको पाइन्छ । सामान्यतया फागुन, चैत्र र वैशाखमा पानीको सतह घट्ने गरेपनि वर्खासँगै झरि पर्न थालेपछि पानीको सतह बढ्ने गरेको छ ।
यसअघि स्थानीय समुदायकै कमजोरीका कारण पोखरीका लागि सरकारले दिने अनुदान पार्टीका पहुँचवालाहरुको हातमा पर्ने भएको भएपनि अब त्स्तो हुन नदिने स्थानीय महिला इन्द्रमाया लिम्बू बताउँछिन् । दाताहरुबाट प्राप्त भएको रकमको प्रभावकारी कार्यान्वयन हुने हो भने तीनकुने पोखरी पूर्वकै एक पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाई छ ।





















































