आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

  नयाँ बुलन्द
126 Shares

इलामको माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने तेह्रकुने पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय तेह्रकुने पोखरी पर्टटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : राम योङहाङ

फिक्कल (इलाम) : इलामको माई नगरपालिका-१ र ९ को संगमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षण गरेको हो ।

स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत छिमेकी जिल्लाका पर्यटकहरु सिमसार र पोखरी र अलोलकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिहं राईले बताए । पोखरीमा ढुङ्गा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको उनले बताए ।

समितिले पोखरीमा दुईवटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताए । ‘पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भएपनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ’ अध्यक्ष राईले भने, ‘डुङ्गामार्फत पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाईलो गर्न आउने बढेका छन् ।’ पर्यटकहरु प्रतिव्यक्ति एक सय रुपैयाँको टिकट काटेर बोटिङमा रमाउने गर्दछन् ।

तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय अगुवा पर्वत राईले बताए । ‘शनिबार र अन्य सार्वजनिक विदाको दिन पोखरी घुम्न आउने पर्यटकको भिडभाड हुने गर्दछ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल समेत बढेको छ,’ उनले भने, ‘सिजनको बेला वनभोजका लागि समेत आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।’

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताउनुभयो । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो ।

विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनी छ । नागबेली जस्तो देखिने १३ वटा कुना भएको पोखरी भएकाले यसको नाम तेह्रकुने पोखरी राखिएको अध्यक्ष राईले बताए । सिमसार क्षेत्र संरक्षण नहुँदा यस क्षेत्रकोअस्तिस्व नै सङ्कटमा पर्दै गएकाले स्थानीयले सिमसार क्षेत्रको संरक्षण गरेको राईको भनाइ छ ।

वरिपरिको हरीयाली डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ उपयुक्त छ । विशेषगरी आदिवासी राई समुदायको बसोबास रहेको त्यस क्षेत्रमा उनीहरूको साँस्कृतिक परम्परासमेत अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार