घुर्बिसे पञ्चमीः इलाम पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा एक हप्तासम्म लाग्ने सेहोनाम्लाङ औधोगिक तथा पर्यटन साँस्कृतिक महोत्सव भोली सोमबारदेखि संचालन हुने भएको छ । चैत्र २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म नयाँ वर्षको अवसरसंगै लाग्ने महोत्सवलाइ कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उक्त महोत्सवका लागि आयोजक समितिले सम्पूर्ण पूर्व तयारी गरिसकेको समिति अध्यक्ष डिएम आङदेम्बे (देउमान) ले जानकारी दिए । खेलकुद,साँस्कृतिक कार्यक्रम,स्थानीय उत्पादित कृषि जन्य वस्तुहरुको बिक्री वितरण तथा अर्गानिक रैथाले खानाहरुसहित विभिन्न स्टलहरुको समेत व्यवस्थापन गरिएको जनाइएको छ ।
कुम्मायक,मिक्लाजुङ र फाल्गुनन्दको सिमानामा रहेको सेहोनाम्लाङ(छाला सुकुवा) को नामबाट महोत्सवको नामकरण गरिएको भएता पनि फाल्गुनन्द भित्र रहेका केसामी नामसामी र युमा माङ्हिमको पनि अध्ययन,अवलोकन गरिने भएको छ । यसैगरी, घुर्बिसे पञ्चमी नजिकै फाकफोकथुम १ मा रहेको पाँच पाँण्डव धारा, वडा नम्बर ३ मा रहेको ज्ञानदिलदास जन्म स्थलको पनि अवलोकन गरिने जनाइएको छ । इलाम र पाँचथरका सिमानामा रहेका सिद्धदेवी (पुधामलुङ), नाम्तोक (सुर्योदय देखिने) डाँडा,फुङ्सेङ लगायतलाई समेटेर ओझेलमा परेका स्थलको प्रचारप्रसार तथा प्रवर्धन गरेर पर्यटकको आकर्षण बढाउने उदेश्य साथै संस्कृति प्रवर्धन मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सव आयोजना गर्न फाल्गुनन्द,मिक्लाजुङ,कुम्मायक र इलामको फाकफोकथुम गाउँपालिका,विदेशमा रहेका नेपाली तथा स्थानीयबासी र स्वदेशमा रहेका दादाहरुको सहयोग यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको बहुदेश्यीय महोत्सवमा अधिकाँश मानिसहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ ।