नयाँ वर्षमा घुम्न जाने हो? यी हुन् इलामका प्रख्यात ठाउँहरु (तस्बिरसहित)

  राम योङहाङ
98 Shares

इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति र विभिन्न नगदे बालीले सुधारिएको जीवनशैली र प्राकृतिक सुन्दरताको दृश्यावलोकनका लागि प्रख्यात छ । त्यसैले कतिपयले इलामलाई स्वर्गको उपमा पनि दिने गरेका छन् । इलामको पहिचान नेपालमै पहिलो चिया बगानसँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू, भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, तालतलैया, सिमसार क्षेत्र र झुल्के घामको दृश्यावलोकन लगायतले पर्यटकलाई आनन्दित तुल्याउने गर्दछ । यहाँको प्रकृतिसँग लुटुपुटु गर्दै स्वर्गीय आनन्द लिन विभिन्न मुलुकबाट बर्सेनि हजारौँको संख्यामा पर्यटकहरू इलाम भित्रिने गर्दछन् । यहाँको प्राकृतिक सुन्दरताले, जो कोहीको मन लोभ्याउने गर्दछ । पछिल्लो समय इलाम पर्यटकीय क्षेत्रको विकासको पथमा लम्किएको छ । प्राकृतिक सौन्दर्यलाई थप सिंगार्नसके इलामलाई विश्वको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिनेमा दुईमत छैन ।

इलामका प्रख्यात पर्यटकीय गन्तव्य
कन्याम
पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको प्रवेशद्वारको रूपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर इलाम उक्लनेहरूका लागि हरिया घुम्टाहरूले छोप्न आतुर छ । अझ गर्मी छल्न आउनेहरूका लागि त कन्याम प्राकृतिक एयर कन्डिसन नै बनिदिन्छ । भुइँ कुहिरोको घुम्टोभित्र लुकाउँदैै जो कोहीलाई कन्यामले प्रफुल्लित बनाउने गर्दछ । छिनछिनमा बदलीरहने मौसम र क्षणभरमै ढपक्क ढाक्ने भुइँकुहिरोका बीच मुस्कुराउने कन्यामको विषेशताले जो कोहीलाई लोभ्याउने गरेको छ ।


थुम्काथुम्कामा मौलाएको सुन्दर चिया बगानकै कारण घुमघाम र वनभोज स्थलको रूपमा चिनिएको कन्यामका अनेकौँ विशेषता छन् । लाप्चा जातिको ऐतिहासिकस्थल सिंग्रामपुनु कन्याममै रहेको छ । कृषिबाट सुधारिएको यहाँका नागरिकको जीवनशैली, विभिन्न जातजातिका संस्कृति पर्यटन प्रवर्धनको मुख्य आधार बनेको छ । पछिल्लोसमय मेचीराजमार्गलाई चौडा बनाउँदै आकर्षक पूर्वाधार निर्माण भएपछि कन्यामको रौनक थप चुलिएको छ । विभिन्न जातजातिको भेषभूषामा सजिएर घोडचढीको आनन्द लिँदै चियाबारी फन्को मार्ने, सेल्फी हान्ने र टिकटक बनाउने अवसर कन्यामले जुटाएपछि तन्नेरी पुस्ताको घँुइचो बढेको छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्दछ ।

अन्तु


सूर्योदयन गरपालिकामा पर्ने अर्को पर्यटकीय गन्तव्य हो अन्तु । मेची राजमार्गबाट करिब १५ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु प्रवेश गरेपछि पाइने प्राकृतिक स्वागतले नै आगन्तुकलाई मख्ख बनाउँछ । १ हजार ८ सय २३ मिटर अग्लो अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि मूख्य गन्तव्यस्थल हो । लाप्चा भाषामा ‘अथोकोङ’ भनिने यो डाँडाको नामकरण पनि त्यसैबाट भएको जानकारहरू बताउँछन् ।

अथोकोङको अर्थ हुन्छ, अग्लो डाँडा । झिसमिसेमै बंगालको खाडीबाट लाली रंगमा पोतिएर आउने घामको झुल्कोले सेताम्मे कञ्चनजंघा र कुम्भकर्ण हिमाल रंगाउँदै अन्तुडाँडालाई चुम्बन गर्दाको दृष्य अलौकिकझँै लाग्छ । यही दृष्यमा रम्न हजारौँको भिड एकाबिहानै डाँडामा पुगेको हुन्छ । रमणीय सल्लाघारीबीचको डाँडामा बनाइएको व्यवस्थित भ्यु टावर र आकर्षक पार्कले पनि अन्तुडाँडाको सौन्दर्यलाई थप सिंघारेको छ । मुटु काम्ने चिसोलाई वास्ता नगरी झुल्के घामको न्यानो अंगालोले बेरेपछि अन्तु पुग्ने पर्यटकको दिनचर्या सुरु हुन्छ । यहाँको अन्तु पोखरी, लोपोन्मुख लेप्चा जातिको संस्कृति र हराभरा चियाबारी, अतिथि सत्कार अर्को लोभलाग्दो पाटो हो ।

सानो पाथीभरा

सानो पाथीभरा इलामको रोङ गाउँपालिका–३ मा पर्दछ । ताप्लेजुङको पाथीभरा देवीकी अन्तरी बहिनी भनेर चिनिने भएकाले सानो पाथीभरा पनि भन्ने गरिन्छ । धार्मिक महत्वको यो क्षेत्र समुद्री सतहबाट १ हजार ८ सय ४० मिटरको उचाइमा रहेको छ । कुटीडाँडा खण्डबाट १ हजार ३३ खुड्किला चढ्दा पर्यटकले आनन्ददायी अनुभूति गर्ने गर्दछन् । यहाँ प्रत्येक शनिबार र मंगलबार भक्तजनको भिड लाग्ने गरेको छ । मन्दिरमा विवाह, व्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गरेको छ । इलाम सदरमुकामबाट ४९ किलोमिटर दक्षिणपूर्वमा रहेको पाथीभरा मन्दिर मेची राजमार्गअन्तर्गत कुटीडाँडादेखि आड सय मिटर उकालो पैदल यात्रापछि पुग्न सकिन्छ ।

माईपोखरी
विश्व रामसार क्षेत्रमा सूचीकृत माईपोखरी जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्दछ । यहाँ विभिन्न प्रजातिका चराचुरुंगी, दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन् । २ हजार १ सय मिटरको उचाइमा अवस्थित माईपोखरी पर्यटकीय तथा धार्मिक गन्तव्यको रूपमा परिचित छ । इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरमा पर्ने मार्ईपोखरी दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रमा फैलिएको छ । माइपोखरीमा पूजापाठसहित घुमघामका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

बलिप्रथा निषेधित पोखरीमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । कुनै समय पोखरी वरपर खसेका पातपतिंगर चराचुरुंगीहरूले टिपेर बाहिर फ्याँक्ने, पोखरीमा पञ्चेबाजा र शंखघण्ट बज्ने तथा पोखरीबाट अकस्मात अनौठो ज्योति निस्केर तुरुन्तै लोप हुने गरेको रहस्य रहेको स्थानीय बताउँछन् । वैशाख पूर्णिमा र ठूलो एकादशीका दिन माइपोखरीमा विशेष पूजा अर्चना हुनुका साथै मेला लाग्ने प्रचलन रहेको छ ।

सन्दकपुर

फाइल तस्वीर

सन्दकपुर गाउँपालिकामा पर्ने अर्को प्रमुख गन्तव्य हो सन्दकपुर । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमशृंखला देख्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि अब्बल मानिन्छ । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । कन्काई माईको उद्गमस्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को लाग्छ । पुस र माघमा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्न पर्यटकहरू पुग्ने गर्दछन् । चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेका दर्जनौँ प्रजातिका लालीगुराँस हेरेर पर्यटकहरू आनन्द लिने गर्दछन् । जिल्लाकै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल पनि हो । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह छ । भारतसँग सीमा जोडिएको सन्दकपुर पुग्न इलाम सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ ।

ढापपोखरी
सन्दकपुर गाउँपालिका–५ जमुनामा अवस्थित ढापपोखरी मानव निर्मित जिल्लाको सबैभन्दा ठूलो पोखरी हो । सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । स्थानीयको सक्रियतामा ६ वर्षअघि निर्माण गरिएको ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ  ।
०७२ को नयाँवर्षमा एक हजार स्थानीय भेला भएर पोखरीको निर्माण र विस्तार थालिएको थियो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रमा स्थानीयले बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर पानी जमाउन थालिएको भए पनि पनि अहिले मजबुत ड्याम बनाइएको छ । स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।

पर्यटकीय गतिविधि बढाउने उद्देश्यले डुंगासमेत सञ्चालित छ । यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि ढापपोखरी पुग्ने गरेका छन् । पोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई थप आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुंगीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

सिद्धिथुम्का

जिल्लाको देउमाई नगरपालिकामा पर्ने सिद्धिथुम्का पर्यटकको अर्को रोजाइको क्षेत्र हो । समुद्र सतहबाट १ हजार ६ सय ९३ मिटरमा अवस्थित छ । सिद्धिथुम्का चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन हेर्न सकिन्छ । अजम्बरे डाँडा, खान्द्रुङ गुफा, नामथला, फूलबारी, पोखरीगाउँ, पङ्खेलुङ झर्ना, रातोपानी, फाल्गुनन्द माङहिम, सिंहदेवीस्थान, जलकन्यादेवी लगायतका आकर्षक पर्यटकीय गन्तव्य छन् । सिद्धिथुम्का इलाम सदरमुकाम इलाम सदरमुकामबाट करिब २० किलोमिटर पश्चिममा पर्दछ ।

गजुरमुखीधाम
चिताएको पुग्ने देवस्थलको रूपमा गजुरमुखीधामलाई चिनिन्छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । यहाँ प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा तीन दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।

पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ । इलाम सदरमुकामबाट मंगलबारे हुँँदै धुसेनीबाट मन्दिर निकटसम्म पुग्ने मोटरबाटो निर्माण भएको छ भने झापा दमकबाट चतुरे, इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ । मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिँढी, बाटोको राम्रो व्यवस्था भएको छ । धामको शिर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैँचा र प्राकृतिक हरियालीले सिंगारिएको यो क्षेत्र चित्ताकर्षक र मनोरम छ ।

माङमालुङ
बढेमानको ढुंगालाई कान्छी आंँलाले हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा यो अनुभव प्रत्यक्ष रूपमा गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चनजंगा लगायतका हिमाल र तराईका विभिन्न क्षेत्रहरू नियाल्न सकिने माङमालुङबाट सूर्योदय र सूर्यास्त सजिलै देख्न सकिन्छ । वडा नम्बर २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङ ऐतिहासिक, धार्मिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले महत्वमूर्ण मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको माङमालुङमा विभिन्न आश्चर्यजनक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

गोही आकारको ढुंगामाथि अडिएर रहेको ढुंगालाई एक औँलाले पनि सजिलै हल्लाउन सकिन्छ । तर जतिसुकै बल प्रयोग गरेर भए पनि पल्टाउन भने सकिँदैन । यसलाई पल्टाउन कोशिस गरे अनिस्ट हुने जनविश्वास छ । सुरम्य डाँडामाथिको माङमालुङमा प्राकृतिक मनोरमता, विभिन्न जातका जीवजन्तु र चराचुरुंगी, लोपोन्मुख सुनाखरी, पूmल, हरियो घाँसे मैदान, हिमालदेखि तराईसम्म विभिन्न ठाउँको रमाइलो दृष्यावलोकन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् । यसका साथै धार्मिक र ऐतिहासिक महत्व बोकेका देवीदेवता, पशुपंक्षी र प्राकृतिक शीलाहरूमा कुँदिएका विभिन्न आकृतिहरू, बिजुवानी देवीको ढुंगा (थालाचेप्पा), बाघढुंगा, बेउलाबेउली ढुंगा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफा लगायतका ऐतिहासिक र धार्मिक वस्तुहरू पनि महत्वपूर्ण छन् । विशाल चौरसँगै रहेको पोखरी, अवतारी डाँडा लगायतका अलौकिक पक्षहरू त झनै आकर्षक र आश्चर्यजनक छन् ।

लारुम्बा (माङसेबुङ)


पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबलीविना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिंगोमा रातो र सेता बाजा राखिएको, साथमा सूर्य अंकित अर्को ध्वजा पनि । पहिलोपटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । माङसेबुङ गाउँपालिका–३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो । किराँत धर्मावलम्बीहरूको धार्मिक स्थल माङसेबुङका सबै घरमा यस्तै ध्वजा राखिएका छन् । लिम्बू समदायको बाहुल्य रहेको माङसेबुङ क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिङ्देनको कर्मथलोको रूपमा विकास गरिएको छ । बर्सेनि मंसिर १८ गते धर्मगुरु लिङ्देनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङ्देनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार