नयाँ वर्षको इलामेली रमझमः अन्तुमा महोत्सव, कन्याममा भीड

  नयाँ बुलन्द
28 Shares

इलाम : इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आ-आफ्ना उम्मेदवार लिएर घरदैलोमा छन्। अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ।

जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो। अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ। सूर्योदय नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार अन्तु महोत्सव भएको

आयोजक समिति संयोजक तथा नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालका अनुसार महोत्सवको पहिलो दिन ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम गरिएको छ।

महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक लगायतका कार्यक्रम राखिएको बरालले जानकारी दिए।

अन्तुमा महोत्सव चलिरहे पनि नजिकैको कन्याममा शनिबार आन्तरिक पर्यटकको थेगि नसक्नु भीड लागेको छ। स्थानीय क्लबहरुको आयोजनामा कन्याममा एक साता लामो पर्यटन मेलाको आयोजना गरिएको छ। यसपटक मौसम सफा देखिएपछि कन्याम चिया बगानमा पर्यटकहरुको भीड छ।

स्थानीय अगुवा सन्तोष गुरुङका अनुसार अन्तुमा चलिरहेको महोत्सवमा र कन्याममा पर्यटकहरुको भीड अत्यधिक छ। ‘मेची राजमार्गसँगै रहेको कन्याममा ‘सर्ट ट्रिप’का पर्यटक बढी देखिएकाले अन्तुमा भन्दा कन्याममा वैशाख १ गतेका दिन पर्यटकको संख्या अत्यधिक रहेकाे थियाे।

स्थानीय युवाहरुले हर्कटे, डुंढेगहिरा, हुरहुरे क्षेत्रमा मेलाको आयोजना गरेकाले पर्यटकले थप मनोरन्जन लिइरहेका छन्,’ गुरुङले भने। रोङ गाउँपालिका रहेको सानी पाथीभरा देवीको दर्शनमा आएको पर्यटक पनि कन्याममा रमाउन पुग्ने गरेका छन्।

कन्याम पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। कन्याम चिया बगानमा फोटो खिच्न र घोडा चढ्न पर्यटक आकर्षित हुने गरेका छन्। पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन्। विभिन्न जातजातिको मौलिक पोसाकमा सजिएर तस्वीर खिच्न पाइने भएकाले तन्नेरीहरु बढी झुम्मिएका छन्।

कन्याम आसपासका क्षेत्रहरु फिकल, श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता हिमालको दृश्य पनि यहाँबाट देख्न सकिन्छ। पछिल्लो समय भौतिक संरचनाको विकास, पर्यटकीय आकर्षणका पोइन्टहरुको निर्माणले पर्यटकलाई थप आकर्षित गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार