इलामको सूर्योदयमा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’

इलाम : स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमसहित सुरु भएको हो।

पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्र्याउन र नयाँ वर्षलाई थप उल्लासमय बनाउन महोत्सव आयोजना गरेको नगर उपप्रमुख तथा महोत्सव आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले जानकारी दिए ।

महोत्सवको उद्घाटन सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले गरे । उनले स्वदेशी पर्यटकले रुचाएको अन्तुमा भारतीय र तेस्रो देशका पर्यटकलाई  लक्षित गरेर महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा स्थानीय खाद्य परिकार र हस्तकलाको स्टल राखिएको छ। महोत्सवमा स्थानीय महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका उत्पादनसहित खानाका परिकारका स्टल राखिएको छ। साँझ दिपावली गर्ने कार्यक्रम रहेको नगरले जनाएको छ। कार्यक्रममा दोस्रो सूर्योदय नगर आइडलका ८ जना प्रतिस्पर्धीले प्रतियोगिताका लागि आफ्नो गीत प्रस्तुत गर्नेछन् भने गायक यम बराल, गणेश पराजुली, यशोदा पराजुली लगायतका दर्जनौं कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गर्ने छन्।

नयाँ वर्षको अवसरमा २०८१ बिहान सूर्योदयको दृश्यावलोकन गरी दिनभर  सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। महोत्सवमा १५ लाख रुपियाँ खर्च हुने जनाइएको छ। नगरले दैनिक पाँच हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने गरी  होटल, होमस्टे र कटेजलगायतका पूर्वाधार अन्तुमा रहेको जनाएको छ। दैनिक ३ हजारभन्दा बढी पर्यटकले अन्तु भ्रमण गर्दै आएको तथ्याङ्क नगरमा छ। नगरका  प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले भने ‘हामीले पर्यटन क्षेत्रमा लगानी बढी नै गरेका छौं, अब थप प्रचार गरेर पर्यटन प्रवर्द्धन गर्नुछ।’

उक्त अवसरमा लागु पदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम समेत गरिनेछ। अन्तु सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान मानिन्छ। अन्तु पोखरी, अन्तुका होमस्टे , कटेजमा पर्यटक घुमफिर गर्न रुचाउने गरेका छन्। सूर्योदय नगरपालिकालाई कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा यस अघि नै गरेको छ। अन्तु र कन्याम स्वदेशी पर्यटकको रोजाइमा परेका गन्तव्य हुन्। नयाँ वर्षमा अन्तु र कन्याम सधैं खचाखच हुने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार