
इलाम : इलामको माङसेबुङ गाउँपालिका ले विद्यावारिधि (पीएचडी) अध्ययनरत आफ्नै पालिकाका एक विद्यार्थीलाई २ लाख ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८०’ बमोजिम माङसेबुङ-२ का उपेन्द्र कार्कीलाई बुधबार आयोजित गाउँसभाको १८औँ अधिवेशन उद्घाटन समारोहका अवसरमा छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।
कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रदेशसभा सदस्य रामबहादुर मगर र गाउँपालिका अध्यक्ष हेमन्त राईले संयुक्त रूपमा कार्कीलाई छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभएका थिए ।
गाउँपालिका अध्यक्ष राईले पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा तथा अनुसन्धानतर्फ आकर्षित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यसअघि पनि दुई जना अनुसन्धानकर्ताले उक्त छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
‘हाम्रो पालिकामा विद्यावारिधि गरेका व्यक्ति अत्यन्त कम छन् । आर्थिक अभावका कारण कतिपयले उच्च अध्ययनको अवसरसमेत गुमाउनुपरेको अवस्था छ,’ अध्यक्ष राईले भने, ‘त्यसैले पालिकावासी विद्यार्थीलाई विद्यावारिधि अध्ययनतर्फ प्रोत्साहित गर्न यो कार्यक्रम सुरु गरेका हौँ ।’
हाल त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागमा ‘समकालीन नेपाली राजनीतिमा मदन भण्डारीको प्रभाव’ विषयमा विद्यावारिधि अनुसन्धान गरिरहेका कार्कीले गाउँपालिकाले उच्च शिक्षालाई प्रोत्साहन गर्न थालेको पहल उदाहरणीय रहेको बताए । उनले यस्तो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्ने धारणा राखे ।
गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८० अनुसार छात्रवृत्ति प्राप्त गर्न माङसेबुङ गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने तथा नेपालका मान्यता प्राप्त विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था छ। ऐनको परिच्छेद ४, दफा ७ मा नेपालका विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत शोधार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरिएको छ ।
यसैबीच गाउँपालिकाले एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरेको छ । माङसेबुङ-१ का सोहन योङहाङलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष राईका अनुसार विद्यावारिधि र एमबीबीएस अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने यी छात्रवृत्ति कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ ।















































