
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ५० लाख २४ हजार ६ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार सुरु भएको गाउँपालिकाको १८औँ गाउँसभाको बैठकमा उपाध्यक्ष विनोदकुमार नेम्बाङले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष नेम्बाङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वको भावनाअनुसार गाउँपालिका विकासको मार्गमा अघि बढिरहेको उल्लेख गरे । ‘दिगो विकास समृद्धिको आधार, स्थायित्व र पर्याप्त पूर्वाधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत समृद्ध माङसेबुङ निर्माणको लक्ष्यसहित बजेट ल्याइएको उनको भनाइ छ ।
गत आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले ४९ करोड ३९ लाख ६८ हजार ८२३ रुपैयाँ आम्दानी गर्ने अनुमान गरेकोमा जेठ मसान्तसम्म ४५ करोड ७२ लाख ५७ हजार ३१ रुपैयाँ वास्तविक आम्दानी भएको जनाएको छ। सो अवधिमा चालुतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत खर्च भएको जानकारी दिइएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जवाफदेही र पहुँचयोग्य बनाउने, गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, कृषि तथा पशुपालन क्षेत्रको उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्य तय गरेको छ । महिला, आदिवासी जनजाति, दलित तथा अपाङ्गता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउने र विकासका नयाँ सम्भावना तथा अवसरको खोजी गर्दै समृद्ध गाउँपालिका निर्माणको आधार तयार गर्ने लक्ष्य पनि बजेटमा समेटिएको छ ।
बजेटका प्राथमिकतामा सार्वजनिक सेवा प्रवाह सुदृढीकरण, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको विस्तार, खानेपानी, सिँचाइ, सडक तथा विद्युतजस्ता पूर्वाधार निर्माण, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा सीपमूलक तालिममार्फत स्थानीय रोजगारी सिर्जना रहेका छन् ।
उपाध्यक्ष नेम्बाङका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ४९ करोड ५० लाख २४ हजार ६ सय ९७ रुपैयाँको स्रोत अनुमान गरिएको छ । यसमध्ये संघीय सरकारबाट समानीकरण अनुदान ८ करोड ९३ लाख, राजस्व बाँडफाँड ८ करोड ६९ लाख ९९ हजार, सशर्त अनुदान १९ करोड ३१ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट समानीकरण अनुदान ७८ लाख २६ हजार, राजस्व बाँडफाँड ७२ लाख ९९ हजार ६९७, सशर्त अनुदान ३६ लाख तथा समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ। गाउँपालिकाको आन्तरिक आम्दानी ३ करोड रुपैयाँ रहने र आर्थिक वर्षको अन्त्यसम्म ३ करोड रुपैयाँ बैंक मौज्दात रहने अनुमान गरिएको छ ।
विशेष तथा समपूरक अनुदान र सशर्त अनुदानबाहेक उपलब्ध २५ करोड १४ लाख २४ हजार ६९७ रुपैयाँमध्ये ६ वटा वडाको निर्णयअनुसार सञ्चालन हुने योजनाका लागि २ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय तथा पालिकास्तरीय योजना र कार्यक्रम सञ्चालनका लागि १९ करोड ८ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँपालिकाले आगामी वर्ष किरात राई मुन्दुम पाठशाला सञ्चालन तथा व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरेको छ। स्थानीय भाषा, संस्कार र संस्कृति संरक्षणका लागि महत्वपूर्ण मानिएको उक्त कार्यक्रम नीति तथा कार्यक्रमसँगै बजेटमा पनि समावेश गरिएको हो ।
शिक्षा क्षेत्रका लागि २ करोड ५७ लाख ५९ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ। सामुदायिक विद्यालयका बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी कर्मचारी तथा कम्प्युटर प्रशिक्षकहरूको तलबमा मासिक २ हजार ५०० रुपैयाँ वृद्धि गरिने भएको छ। अध्यक्ष कपसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि समेत बजेट व्यवस्था गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। अपाङ्गता भएका नागरिकका घरपरिवारको स्वास्थ्य बीमाको रकम गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था बजेटमा गरिएको छ। माङसेबुङ–३ स्थित आत्मानन्द स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न एमबीबीएस चिकित्सकको व्यवस्था गरिने भएको छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यसहित कृषि विकास शाखाका लागि २० लाख रुपैयाँ र पशु सेवा शाखाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्थानीय उत्पादन वृद्धि, किसानलाई प्राविधिक सेवा तथा व्यवसायिक कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
राजस्व परिचालनतर्फ करको दायरा विस्तार गरी आन्तरिक आय वृद्धि गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने, कर्मचारीको क्षमता विकास गर्ने तथा स्थानीय राजस्व परामर्श समितिलाई थप सक्रिय बनाउने नीति लिइएको छ । आगामी आर्थिक वर्षमा संकलन गरिने कर तथा गैरकर राजस्वका दरहरू आर्थिक विधेयक २०८३ बमोजिम हुने जनाइएको छ ।
बजेट वक्तव्यको अन्त्यमा उपाध्यक्ष नेम्बाङले गाउँपालिकालाई प्राप्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाट मात्र सञ्चालन गर्न नसकिने ठूला योजना तथा कार्यक्रमका लागि संघीय सरकार, प्रदेश सरकार तथा दातृ निकायसँग सहयोग र साझेदारीको पहल गरिने बताए। उनले बजेट तर्जुमा प्रक्रियामा सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा सम्पूर्ण माङसेबुङवासीप्रति आभार व्यक्त गर्दै बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।














































