फाल्गुनन्दको घुर्विसे पञ्चमी मावि केन्द्रमा ११ विद्यालयका २६० विद्यार्थी एसईई परीक्षामा सहभागी

  युद्धबहादुर बोहोरा
77 Shares

पाँचथरः देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका  केन्द्र घुर्विसे पञ्चमी माध्यमिक विद्यालयबाट २६० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। यस केन्द्रमा फाल्गुनन्द गाउँपालिकाका ७ वटा विद्यालय, मिक्लाजुङ गाउँपालिकाका २ वटा विद्यालय, कुम्मायक गाउँपालिकाको १ वटा विद्यालय तथा फिदिम नगरपालिकाको १ वटा विद्यालय गरी जम्मा ११ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्। केन्द्रमा सहभागी परीक्षार्थीमध्ये १११ जना छात्रा र १०५ जना छात्र रहेका छन्। साथै ४२ जना ग्रेड वृद्धिका परीक्षार्थी सहभागी भएका छन् भने अन्य विद्यार्थी नियमिततर्फका रहेको विद्यालयका शिक्षक सुरेन्द्र प्रसाद लामिछानेले जानकारी दिए ।

परीक्षा व्यवस्थापनका लागि केन्द्राध्यक्ष शेरबहादुर चेम्जोङसहित १३ जना कर्मचारी खटिएका छन्। परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्न आवश्यक जनशक्ति परिचालन गरिएको केन्द्रले जनाएको छ।एसईई परीक्षाको पहिलो दिन चैत्र १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु गरेको हो। यस वर्षको एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्ष परीक्षा थप व्यवस्थित र पारदर्शी बनाउन राष्ट्रिय परीक्षा बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू हलभित्र प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्य प्रभावित हुने गुनासो आएपछि सामूहिक अनुगमन निषेध गरिएको हो। अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरी आवश्यक अनुगमन गरिने व्यवस्था गरिएको छ।परीक्षा तालिका अनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुनेछ। त्यसपछि २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमिततर्फका र ७० हजार ८५५ जना ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार