आगामी वैशाख २३ गतेदेखि कुम्मायकको यासोकमा त्रिशाली मेला लाग्दै

  पदम सुखी सम्बाहाम्फे
105 Shares

 

पाँचथरः कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा आगामी वैशाख २३, २४ र २५ गते त्रिशाली पुजा एवं मेला (तङ्सुम तङ्नाम) लाग्ने भएको छ।मुल समारोह समितिका अनुसार, वैशाख २३ गते कुम्मायक र कुस्सायक देवस्थलमा पुजा सम्पन्न हुनेछ भने २४ गते मेला र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। मेलाको समापन बैशाख २५ गते हुनेछ।

समितिले मेला अघि बजार सरसफाइ, खानेपानी व्यवस्था र पुजा व्यवस्थापनमा विशेष ध्यान दिने बताएको छ। बैठकले बैशाख १० गतेदेखि मुल पुजा सम्पन्न नभएसम्म भक्तजनलाई देवस्थल भित्र सामूहिक पुजा नगर्नु भन्ने निर्णय गरेको छ। यस अवधिमा मन्दिर भित्र-बाहिर रंगरोगन, सरसफाइ र पुजा व्यवस्थापन सम्बन्धि कामहरू गरिने जानकारी दिइएको छ।मुल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लावतका अनुसार, मेलामा नौमती बाजा, धाननाच, केलाङ, भलिबल, फुटबल, ब्याडमिन्टन, बुद्धिचाल लगायतका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। मेलामा स्थानीयबासीसँगै छिमेकी जिल्ला, सिक्किम, दार्जिलिङ, भुटान, बर्मा लगायत विश्वभरका भक्तजनको उपस्थिति रहने विश्वास गरिएको छ। यस अवसरमा मानव जीवनका मनोकामना पूरा हुने जनविश्वास पनि रहेको बताइन्छ।मुल समारोह समितिले सबै भक्तजनलाई स्वच्छता, व्यवस्थापन र अनुशासन पालना गर्न आग्रह गरेको छ।

यसरी शुरु भयो त्रिशाली मेला

त्रिशाली पुजा एवं मेलाको परम्परा राजा उवाहाङ युमाको समयदेखि चलेको बताइन्छ। इशाको छैटौं र नवौं शताब्दीमा उनी भक्त थिए र उत्तरमा तिब्बत, दक्षिणमा भारतको सीमासम्म आफ्नो राज्य विस्तार गरेका थिए। राजा युमाले आफ्नो भाइ-भारादार र रैतीहरुसँग भेला भइ भोजनपान गराउने उत्सवलाई नै यस पर्वको रूपमा विकास गरिएको हो। उनै युमाका छोरा मावोहाङले यस क्षेत्रमा शिकार खेल्दा युमाको दर्शन पाएको कथा पनि रहेको छ। उन्नाइसौं शताब्दीमा रैनमुखी सम्बाहाम्फेको पालामा पनि कुम्मायक र कुस्सायक देवस्थलमा प्रत्येक तीन वर्षमा सामूहिक पुजा र उत्सवको रूपमा त्रिशाली (तङ्सुम तङ्नाम) आयोजना हुने परम्परा कायम भएको अभिलेख पाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार