चैत २२ गतेदेखि फाकफोकथुम ६ स्थित पोखरीमा फुटबल प्रतियोगिता हुँदै

इलामः नयाँ वर्ष २०८३ को अवसरलाई लक्षित गर्दै इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित पोखरी क्षेत्रमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पोखरी युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको तेस्रो संस्करण आगामी चैत २२ गतेबाट सुरु भई वैशाख १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछ। ग्रामीण क्षेत्रमा फुटबल खेलको विकास गर्नुका साथै स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने र प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा इलाम, पाँचथर र झापा जिल्लाका विभिन्न टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। अघिल्ला संस्करणहरूमा पनि ती जिल्लाका टोलीहरूबीच प्रतिस्पर्धात्मक खेल हुँदै प्रतियोगिताले राम्रो चर्चा पाएको थियो।

पोखरी युथ क्लबले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्न योगदान पुर्‍याउँदै आएको बताइएको छ। यसले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुका साथै गाउँस्तरमै खेल प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

प्रतियोगितामा विजेता टोलीलाई ७१ हजार १७१ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ४० हजार १४० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार