
इलाम (फाकफोकथुम): संविधान दिवस २०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्यसमितिको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पालिकाको ३ नम्बर वडास्थित कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरिएको संगठनका सचिव बिमल घिमिरेले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथि खनालले संविधान दिवसले ल्याउने राष्ट्रिय चेतना र शिक्षाको भूमिकामाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने बताए।

विशेष अतिथि वडाध्यक्ष दिपेन्द्र लिम्बूले शिक्षालाई स्थानीय विकासको आधार भन्दै विद्यार्थीहरूमा सकारात्मक सन्देश फैलिएको बताए। कार्यक्रममा वि.व्य.स अध्यक्ष बलबीर थेगिम र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले आयोजकलाई उदाहरणीय कार्य गरेकोमा धन्यवादसहित प्रशंसा गरे । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष दिपक राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रम स्वागत मन्तव्य संगठनका सदस्य खगेन्द्र निरौलाद्वारा प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूको पठन–पाठनलाई सहज बनाउन करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री झोला, बलपेन, पेन्सिल, कपी लगायतका सामग्रीहरू वितरण गरिएको आयोजकले जानकारी दिएका छन्। स्थानीय समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीहरूद्वारा कार्यक्रमप्रति आभार प्रकट गरिएको छ। यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुर्याउने जनाइएको छ।

















































