
इलामको हरियालीले ढाकिएको लुम्दे गाउँ। त्यही गाउँको सामान्य परिवारमा जन्मिएका डा. प्रेम फ्याक अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्क (अमेरिका) स्थित टिचर्स कलेजमा एसोसियट प्रोफेसर छन्। भाषा, शिक्षा र समाजका लागि निरन्तर लागिरहेका फ्याकलाई शिक्षा केवल डिग्री होइन, परिवर्तनको शक्ति बुझेका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका ५, लुम्देमा जन्मिएका फ्याक, बाल्यकालमै अध्ययनप्रति गहिरो रुचि राख्थे। गाउँको विद्यालयदेखि सुरु भएको उनको शैक्षिक यात्रा इलाम, काठमाडौं, लण्डन, हङकङ हुँदै अमेरिकासम्म पुगेको छ।
बचपनमा उनले महसुस गरेका थिए अंग्रेजी बोल्नेलाई बुद्धिमान ठानिने र मातृभाषा बोल्नेलाई हेपिने, यो प्रवृत्तिले समाजमा गहिरो विभाजन ल्याउँछ। यही पीडाले उनको सोचलाई मोड दियो ‘के सिक्न चाहनाले आफ्नो भाषा बिर्सनु पर्छ?’ भन्ने प्रश्नसँगै।
फ्याकले गाउँकै जालपा आविबाट प्रारम्भिक शिक्षा लिए। ६ कक्षादेखि महेन्द्रोदय माविमा पढे र त्यहींबाट २०५२ मा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि इलामकै महेन्द्र रत्न क्याम्पसमा अंग्रेजी शिक्षामा स्नातक सके। त्यसबेलै उनी सुनाखरी बोर्डिङ स्कुलमा पनि अध्यापन गर्थे ।
त्यसपछि सेन्ट्रल डिपार्टमेन्ट अफ एजुकेसन, त्रिवि, काठमाडौंमा स्नातकोत्तर गर्दै विभिन्न कलेज तथा निजी विद्यालयमा समेत पढाए । उत्कृष्ट नतिजाका कारण उनले युनिभर्सिटी अफ लण्डनमा छात्रवृत्तिमा एक वर्ष अध्ययन गरे। पछि उनी युएसएमा युनिभर्सिटी अफ हवाई (अमेरिका) मा पिएचडी अध्ययन गर्न गए। त्यहाँ उनले भाषा, शिक्षा र सामाजिक न्यायबीचको सम्बन्ध विषयमा गहिरो अनुसन्धान गरे।
पिएचडी सकेर फर्किएपछि फ्याक त्रिविमा अंग्रेजी शिक्षा विभाग प्रमुख बने। तर विश्वविद्यालयको कक्षामा मात्र सीमित नभइ खोज अनुसन्धानमा लागिरहे । यस अन्तर्गत उनी गाउँ-गाउँ पुगेर शिक्षक तालिम, अभिभावक शिक्षा र शिक्षण नवप्रवर्तन सम्बन्धी कार्यशालाहरूमा सहभागि हुन्थे । फ्याकको मान्यता छ ‘शिक्षा भनेको समाज बुझ्ने कला हो। केवल किताब पढ्ने कुरा होइन।’
त्यसैले उनी शिक्षालाई भाषा, संस्कार, समुदाय र भूगोलसँग जोडेर हेर्छन्। उनी भन्छन्, ‘भाषा मात्र होइन, संस्कृति सिकाउने माध्यम पनि शिक्षा हो।’
२०८२ सालको दोस्रो महिनामा डा. फ्याक केही समयका लागि आफ्नो जन्मगाउँ इलामको फाकफोकथुम फर्किए। बाल्यकालको सम्झनासँगै गाउँका बालबालिकाको भविष्य उज्ज्वल बनाउने सोच बोकेर उनी त्यहाँ पुगेका थिए। यसै क्रममा, फाकफोकथुम गाउँपालिका–७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव राखेपछि उनी उत्साहका साथ सहभागी भए।

कार्यक्रममा उनले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै भने, ‘पढाइ भनेको केवल पास गर्ने प्रक्रिया होइन, बुझ्ने र समाज परिवर्तन गर्ने औजार हो। प्रश्न गर, डर नमानी गर।’ उनको यही सरल र प्रगाढ सन्देशले विद्यार्थीको मन जित्यो। एक दिनको शैक्षिक बहसमा उनले विद्यार्थीको मनोविज्ञान बुझ्दै, सिकाइमा जागरुकता र जिज्ञासाको महत्वलाई विशेष जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लिम्बुले कार्यक्रमपछि प्रतिक्रिया दिँदै भने, ‘डा. फ्याकले गाउँका बालबालिकाको मन छोएका छन्। यस्तो बहस र संवाद ग्रामीण शिक्षाको सुधारका लागि प्रेरणादायी हुन्छ।’
गाउँमा रहँदा डा. फ्याकले आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरेका दुई विद्यालय जालपा आधारभूत विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालय पनि भ्रमण गरे। ती ठाउँमा उनले आफ्ना पूर्वगुरू, अभिभावक र विद्यार्थीहरूसँग भेटघाट गरे। शिक्षा सम्बन्धी विभिन्न छलफल तथा बहसमा उनले सक्रिय सहभागिता जनाउँदै स्थानीय तहमा शैक्षिक चेतना जगाउने काम गरिरहेका छन् ।

उनको अभियान यतिमै सीमित छैन। उनी विभिन्न मातृ भाषाविद्हरु र अग्रज गुरुबाट ज्ञान सिक्ने कसरतमा पनि लागिपरेका छन् । हाल उनी काठमाडौँ विश्वविद्यालयद्वारा आयोजित शैक्षिक छलफलहरूमा समेत सक्रिय रूपमा सहभागी भइरहेका छन्। सहरदेखि गाउँसम्म उनले शिक्षा रूपान्तरणको अभियानमा आफूलाई समर्पित गरिरहेका छन्। शिक्षा केवल ज्ञानको हस्तान्तरण नभएर सोच बदल्ने प्रक्रिया हो भन्ने कुरालाई डा. फ्याकले आफ्नो कार्यद्वारा प्रमाणित गरिरहेका छन्। ग्रामीण शिक्षामा यस्ता प्रयासहरू निरन्तर भइरहुन् भन्ने अपेक्षा गर्न सकिन्छ। उनी शिक्षकका लागि शिक्षक पनि हुन् । शिक्षकहरूलाई स्थानअनुसार शिक्षण पद्धति प्रयोग गर्न तालिम दिन्छन् । उनी कक्षाकोठा मात्र होइन, शिक्षकको सोच नै परिवर्तन गर्न चाहन्छन्।
उनको अन्तर्राष्ट्रिय अनुभवसँगै स्थानीय खोजमा पनि त्यतिकै लगाब छ । हङकङको चाइनिज युनिभर्सिटीमा तीन वर्ष ‘प्रायोगिक भाषाविज्ञान निर्देशक’का रूपमा काम गरेपछि उनी हाल अमेरिका, कोलम्बिया युनिभर्सिटी अन्तर्गत टीचर्स कलेजमा एसोसियट प्रोफेसर छन्। सोधका प्रोफेरको जिम्मेवारीमा काम गरिरहेका उनी अहिले अन्तर्राष्ट्रिय शिक्षा, सामुदायिक विद्यालय सुधार, स्थानीय शिक्षा नीति र सामाजिक न्याय सम्बन्धी अनुसन्धानमा छन्। उनी भन्छन्, ‘शिक्षा केवल सहर केन्द्रित हुँदा पहाडहरू रित्तिँदै गएका छन्। पहाड फर्काउने हो भने, शिक्षा सुधार गर्नु पर्छ।’ संघीय संरचनापछि स्थानीय सरकारले शिक्षालाई प्रथामिकीकरण गर्न जरुरी रहेको उनको बुझाइ छ ।
भूमि, भाषा र समाजसँग जोडिएको शिक्षा भए मात्रै गुणस्तरीय शिक्षा भन्न सकिने उनको दावी छ । उनको दृष्टिकोणमा शिक्षा मानवमुखी मात्र होइन, प्रकृति मैत्री हुनुपर्छ। पाठ्यपुस्तकमा सीमित शिक्षा समाज बुझेको शिक्षा होइन। ‘धरातलीय शिक्षा’ बिना समाजमा चेतनाको विकास हुँदैन भन्ने उनको मान्यता छ ।
अस्तित्व मासेर सिकिने ज्ञान होइन । ‘नयाँ कुरा सिक्नु राम्रो हो। तर, त्यो सिकाइले आफ्नो भाषा, संस्कृति र पहिचान मेटिन्छ भने त्यो शिक्षा होइन, विस्मरण हो।’-उनी भन्छन् ।उनी अझै देश-विदेशका विश्वविद्यालयमा पढाइरहेका छन्, अनुसन्धान गरिरहेका छन्। तर उनको मुटु भने सधैँ गाउँमै छ जहाँ शिक्षाको उज्यालो छर्ने फ्याकको सपना छ ।
उनी भन्छन् ‘शिक्षा भनेको किताब होइन, चेतना हो। त्यो चेतना आफ्नै समाज, माटो र संस्कारबाट सुरु हुन्छ।’
फ्याकको सन्देश छ ‘शिक्षा समाजसँग जोडिएको हुनु पर्छ। नत्र त्यो शिक्षा अधुरो हुन्छ।’ शिक्षा केवल आयातित विचार होइन, हाम्रो माटोको सुगन्ध बोकेको प्रणाली हुनुपर्छ भन्ने उनको दृढ मान्यता छ। उनी भन्छन् ‘ज्ञानको मूल श्रोत समाज र भूगोल हो। शिक्षाले समाजसँग अन्तरसम्बन्ध राख्नुपर्छ।’ उनी नेपाली सामुदायिक विद्यालय सुधारका लागि नीतिगत र व्यवहारिक तहमा चिन्तनशील छन्। शिक्षा र प्रकृतिबीचको सम्बन्ध, शिक्षाको सामाजिकीकरण, सामाजिक चेतना निर्माण र स्थानीय सन्दर्भमा आधारित पाठ्यक्रम विकासमा उनको विशेष रुचि छ।
लेखकः युद्धबहादुर बोहोरा

















































