अनलाइन कक्षा : शहरमा वरदान,गाउँमा अभिशाप

  नयाँ बुलन्द
147 Shares

रमेश भट्टराई ‘सहृदयी’

अनलाइन प्रविधिका कक्षा सञ्चालन गर्ने कुरा केवल विद्युत र इन्टरनेटको पहुँच भएका मूलतः शहरी क्षेत्रहरूका लागि यो उत्तम उपाय हो । २१औँ शताब्दीमा आएर प्रविधिको विपक्षमा कुरा गर्नु मूर्खता हो तर बाध्यतालाई नकार्न मिल्दैन । यो त यथार्थ हो । प्रविधिमैत्री शिक्षण नयाँ ढाँचाको अध्यापन शैली भएकाले पनि नहुनु मामाभन्दा कानो मामा जाति भनेजस्तो चाहिँ हुन्छ । नेपालमा ग्रामीण क्षेत्र अझै पनि ‘टुकी युग’मा रहेको तीतो यथार्थतालाई शिक्षा मन्त्रालय तथा विश्वविद्यालय लगायतका सबै शैक्षिक विषयमा सरोकार राख्ने निकायले मिहिन रूपमा सोच्नु आवश्यक छ ।

एकान्तवास (लकडाउन) को परिस्थितिलाई नजरअन्दाज गरेर त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनार्थ सूचना जारी गरे पनि सायद नेपाल र नेपालीका समस्याका विषयमा ध्यान दिइएको देखिँदैन । वास्तवमा अझै पनि नेपालमा प्रविधि जान्ने र प्रयोग गर्ने ज्ञान दूरदराजका नागरिकसँग छैन । यस कुरालाई पनि नकार्न सकिँदैन । शहरी क्षेत्रमा बिजुली पनि आपूर्तिको ठेगान हुँदैन । अहिलेकै अवस्थामा सबै विद्यार्थीलाई एकमुष्ट पारेर भेला गरी प्रभावकारी कक्षा सञ्चालन गर्ने तथा पढाइलाई गति दिने कुरा हाम्रो नेपालका लागि अर्को समस्या रहेको देखिन्छ । यो कुरा एउटा कोठाभित्र बसेर निकालिएका सुझाव र तर्क गरेजस्तो सहज छैन । किनकि, ग्रामीण क्षेत्रको विकट परिवेश र चेतनाका विषयमा रहेर बालमनोविज्ञान र समाजमनोविज्ञानलाई हेर्ने कुरा छुट्छ । तब, उपाय केवल भन्नका लागि भनिएको ठहर्छ किनकि अनलाइन कक्षा सञ्चालनपूर्व त्यसको आधारभूत विकास हुनु आवश्यक छ ।

हाम्रो देशका अधिकांश शहरी क्षेत्रबाहेकका दूरदराजका गाउँमा रेडियोसम्म राम्ररी बज्न सक्दैन । विशेष गरेर केही बजारी क्षेत्रबाहेकमा बिजुलीको आपूर्ति निरन्तर हुँदैन । हावाहुरी, झरी-बादल भएर वातावरण फेरबदल भइसक्दा बत्ती जान्छ । त्यसो नभए पनि बत्ती जाने-आउने कुराको कुनै ठेगान हुँदैन । यो वास्तविक समस्यालाई नियाल्ने हो भने नेपाल सरकारले पहिला पूर्वाधारका विकास गर्ने अनि आदेश दिने गरेको भए त्यो तरिका मिल्थ्यो होला । पढाउँदै गयो- बीचैमा बत्ती जान्छ । सबैको घरमा इन्भर्टर, सोलार आदिको सुविधा त हुँदैन । परिणामतः पढ्ने पढाउनेलाई नै बाधा उत्पन्न हुन्छ । झिँजो महसुस हुन्छ । यो शहरी क्षेत्रमा केही हदमा वरदान भए पनि दूरदराजका लागि अभिशाप बन्छ ।

कोरोना महामारीले व्यापार, उद्योग, यातायात लगायतका विविध क्षेत्र जसरी नै शैक्षिक जगत्लाई प्रभावित तुल्याएको छ । मुखमा आइपुगेर अकस्मात् रोकिएको एसईई परीक्षादेखि विश्वविद्यालय तहसम्मका पढाइ र परीक्षा रोकिएकामा चिन्ता बढ्दै जाँदा उत्तम विकल्प खोज्नु परिस्थितिगत बाध्यता पनि हो । शिक्षा र सरोकारवालाहरूको समर्थन तथा एउटै विकल्पका रूपमा अहिले ‘अनलाइन कक्षा’ सञ्चालनका कुरामा विचार राख्नेको एउटा लहर पनि छ ।

खुला विश्वविद्यालयले त विगतदेखि नै अनलाइन कक्षालाई नेपालमा राम्रै अभ्यास गरिरहेको बुझिन्छ । लकडाउनका कारण एसईई तहका लागि विभिन्न विकल्पका साथमा ‘जुम डट युस’, ‘टेलिभिजनद्वारा शिक्षण’, ‘रेडियो कार्यक्रम’ लगायतका विकल्पहरूको खोजी भयो । यसबाहेकका प्रभावकारी विकल्पले शिक्षा क्षेत्रमा एउटा उतारचढाव ल्याइरहेको छ । कतै अनलाइन कक्षा सञ्चालनका प्रभावकारिताको खबर त कतै समस्याका खबर । उदाहरणका रूपमा लिँदा– धादिङ स्थित आदर्श बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा विगतदेखि नै प्रत्यक्ष कक्षाका साथमा ‘गुगल क्लास रुम’, ‘इज्जी क्लास’ लगायतका एप्सको माध्यमबाट पठनपाठनमा सहजीकरण गर्ने कार्य गरिरहेको छ ।

दमक बहुमुखी क्याम्पस, दमकले पनि इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई समेटेर ‘जुम डट युस’ द्वारा कक्षा सञ्चालनमा सकेसम्म लागि परेको त्यहाँका अध्यापक लीलाराम निरौला बताउनुहुन्छ । सामाखुशी इङ्गलिस बोर्डिङ (सेब) स्कुल, काठमाडौँले अहिले कक्षा ८ देखि माथिका विद्यार्थीलाई यो एप्सद्वारा कक्षा सञ्चालन गर्दा सिकाइमा स्मरण हुने त्यहाँका निर्देशक युवराज थापाले बताउनुभयो । यो प्रविधिद्वारा ठूला-ठूला भेला, साहित्यिक समारोह भइरहेको देख्न पाइन्छ । ‘जुम डट युस’ एप्सद्वारा प्रश्न राख्न तथा लेखेर राखिएका सामग्री हेरेर सुझाव दिन सकिने हुँदा इन्टरनेट भएका शहरी क्षेत्रमा यो प्रविधि वरदान बनेको छ । तर, यी प्रविधिहरूले गणित, विज्ञान, अर्थशास्त्र, अकाउन्ट लगायतका विषयमा हुने हिसाबजन्य समस्यालाई हल गर्न त्यति सम्भव हुँदैन । यसका अतिरिक्त विश्वले अपनाइरहेका अभैm सहज र प्रभावकारी तौरतरिकाहरू भेट्न सके त्यसलाई पनि खोज्नु अबको आवश्यकता अवश्य हो ।

प्रविधिको वैकल्पिक तथा नवीन प्रयोगले प्रविधिमैत्री शिक्षको वातावरणलाई तय गर्दा यो फुर्सदको दुरुपयोग रोक्ने वरदान साबित भएको छ । चीन, इटालीमा दोहोरिएका घटनालाई हेर्दा सरकारले शिक्षण संस्थालाई सबैभन्दा पछि मात्र खोलिने भनेको विषय पनि जायज छ । दिनदिनै बढी भेला हुनुपर्ने स्थान शैक्षिक क्षेत्र हुन् । यसर्थ घरमा बसिरहँदा पढ्ने वातावरण भएमा पक्कै राम्रो कुरा हुन्छ नै । तर, इन्टरनेट चलाउने भए पनि सबैको आफ्नै राउटर त हुँदैन । सबैसँग गुणस्तरीय नेट पनि त छैन । त्यसै त आजभोलि धेरैले प्रयोग गर्ने हुँदा पनि यसको गतिमा द्रुतता हुँदैन । इन्टरनेटको पहुँच बाहिर रहेकाहरूका लागि अनलाइन कक्षा चिन्ताको विषय हुन्छ । यो प्रविधि आकाशको फल आँखातरि मर भनेजस्तो मात्रै हुन्छ ।

गरिबी र मनोविज्ञान
ग्रामीण क्षेत्रका सबै विद्यार्थीका हातमा इन्टरनेट चल्ने स्तरको मोबाइल छैन । यसबाट तिनमा अवश्य पनि मनोवैज्ञानिक असर पर्छ । मोबाइल भए पनि यदि डाटा लिएर नै भए पनि कक्षामा सहभागी हुन्छु भन्ने हो भने यो अवस्थामा मोबाइलमा पैसा राख्नै मुस्किल छ । हाम्रो देशमा डाटा लिएर नेट चलाउने होइन, मोबाइलको नेटवर्क नटिप्ने थुप्रै ग्रामीण इलाकाहरू छन् । यो आकाशको फल आँखातरि मर मात्र हुन्छ । एकातिर पढाइ भइरहेको छ, अर्कातिर आफू सहभागी हुन नसक्दाको मनोवैज्ञानिक पीडा हुन्छ । यसले औपचारिक कक्षा सञ्चालन गर्ने कुरामा सकारात्मक प्रभाव पार्न सक्दैन । परिणामतः इन्टरनेटको पहुँच नभएका कारणले नै विद्यार्थीहरूले पढाइ छोड्ने परिस्थिति बन्न सक्छ । बजार-व्यापार, यातायात बन्द भएका कारण गाउँ-गाउँमा रिचार्ज कार्डको अभावमा दूरदराजका धेरै मानिसमा समस्या छ । सबैसँग अनलाइन रिचार्ज गर्ने ज्ञान र सुविधा छैन पनि । यदि कार्ड पाए पनि डाटा लिँदा त ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । यो विपन्न वर्गका लागि अर्को समस्या हो ।

आवश्यक पूर्वाधार विकास तथा सुविधा प्रदान गर्ने विषयमा पनि आ-आफ्नो क्षेत्रबाट कदम चाल्नु अनिवार्य देखिन्छ :

गाउँपालिका वा स्थानीय सरकार लगायत सम्बन्धित सरोकारका निकायका बिचमा समन्वय गरेर निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने,
अथवा
विद्यार्थीको नाम र नम्बर क्याम्पसको सिफारिसका आधारमा दर्ता गराई डाटामा छुट दिने,
विद्युत आपूर्तिका लागि स्थानीय सरकार, सम्बन्धित विद्युतको कार्यालय तथा क्याम्पस वा विद्यालयसँग समन्वय गर्ने,
डाटा लिएर इन्टरनेट चलाउनुपर्ने विपन्न विद्यार्थीको अवस्थालाई हेरेर स्थानीय सरकार तथा अन्य कुनै सहयोगी निकायसँग सहकार्य गर्ने,
स्थानीय वडा कार्यालय तथा सरकारले ग्रामीण क्षेत्रमा कुनै सहज हुने सकेसम्म छोटो दुरीको स्थानमा इन्टरनेटको व्यवस्था गरेर पढ्ने, पढाउने गरी सुरक्षित वातावरण तय गर्ने
इन्टरनेटको पहुँच वा मोबाइल डाटा दुवै अवस्था नहुनेका विषयमा विशेष ध्यान दिएर मात्र औपचारिक रूपमा यो अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।
विशेष गरेर बालबालिकाका लागि इन्टरनेटको सुविधालाई केही गरी, कसै गरी पनि उपलब्ध गराउन नसकिने क्षेत्रमा रेडियो शिक्षा, टेलिभिजन भएका स्थानमा टेलिभिजन शिक्षा, प्रदान गर्न सम्भव हुने देखिन्छ । पहिला-पहिला शिक्षक तालिम र परामर्शका कुरा रेडियो नेपालबाट प्रसारण गरे जसरी माथिल्ला तहका लागि पनि वैकल्पिक उपायलाई खोज्नु उपयुक्त हुन्छ ।
गाउँमा त लकडाउन भएको नभएको खासै असर देखिँदैन । मात्र विद्यालय बन्द छन् भन्ने कुरा मात्र हो । यसर्थ बालबालिकालाई घरका कुरा सिकाउनुपर्छ, काम सिकाउनुपर्छ भन्ने कुरा धेरै हदमा शहरी क्षेत्रतिर हो । त्यहाँ त इपुस्तकालय, इसिकाइका कुरा आइरहेका छन् । प्रविधि छ ।
मूलतः गाउँका लागि, दूरदराजका लागि जेजे भनिए पनि उस्तो व्यावहारिक आधार छैन । त्यहाँ धेरै हदमा अभिभावक पनि सचेत छैनन् । त्यसैले स्थानीय सरकार, अभिभावक तथा शिक्षकहरूको सहकार्यद्वारा सचेत तुल्याएर बालशिक्षाका चेतनामूलक सूक्ष्म कार्यक्रम, रेडियो शिक्षा गर्न सकिएला । किनकि, यदि त्यहाँ बाहिरतिर मान्छेहरू ओहोर-दोहोर नगर्ने हो भने कोरोनाको जोखिम कम छ ।

उल्लिखित पक्षहरूमा इन्टरनेट र विद्युत आपूर्तिका समस्या सोचनीय छन् । अर्कोतर्फबाट सोच्दा हामीले कहिलेकाहिँ भन्दै आएका छौँ- ‘बालबच्चाले मोबाइल र फेसबुकका कारणले पढाइ बिगारे ।’ यदि सरकारले इन्टरनेट निःशुल्क बनाउने हो भने त्यो अर्को समस्या बन्न सक्छ । वास्तविकतामा सोच्ने हो भने इन्टरनेट अभिशाप होइन, वरदान साबित तुल्याउनु अभिभावक, शिक्षक तथा अग्रजको दायित्व हो । विद्यार्थीहरू इन्टरनेटबाट संसारको ज्ञानमा अद्यावधिक हुन पनि त पाउँछन् । अहिलेकै समयमा नकारात्मक व्यवहार र आचरणका विषयमा अभिभावक चनाखो हुनु चाहिँ अत्यावश्यक छ । विशेष गरेर ग्रामीण क्षेत्र र दूरदराजका विद्यार्थीका अवस्था समेतलाई ख्याल गरेर मात्र यो अनलाइन कक्षा वा अन्य विकल्पलाई प्रयोग गर्न सकिन्छ । ग्रामीण क्षेत्रका विद्यालयीय तहमा निश्चित क्षेत्रका विद्यार्थीहरू पढ्न आउने हुँदा यदि सबैको हातमा सोही अनुकूलको मोबाइल हुने हो भने इन्टरनेट निःशुल्क हुँदा केही सम्भावना बढ्ला कि !-घटनाविचार अनलाइनबाट
[email protected]

(लेखक भाषा र साहित्यका साथै समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार