जीवन लिम्बू
काठमाण्डौ : मुलुकमा संघीयता लागु भएसँगै पहिचान सहितको संघीय प्रदेश स्थापनाको माग गर्दै आएको पार्टी संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बूवान मञ्चले फरक स्वरुपको आन्दोलनको सुरुवात गरेको छ ।
समय समयमा विभिन्न आन्दोलन गर्दै आएको मञ्चले गत शनिबारदेखी एसएमएस आन्दोलन सुरु गरेको हो ।
वि.स. १९८८ सालबाट लिम्बुवान आन्दोलन निरन्तर रुपमा भइरहेको छ । विशेषगरेर २०६२ सालदेखी लिम्बुवानका सवालहरु उठाएर शसक्तरूपमा आन्दोलन समेत चलिरेहको छ । लिम्बुवान आन्दोलनले विभिन्न उतारचडावहरु पार गर्दै आएको छ ।
लिम्बुवानका राजनीतिक कर्मीहरुले फरक–फरक ढंगबाट आन्दोलन समेग गर्दे आइरहेका छन् । तर शनिवार देखी फरक तरिकाले पहिचान सहितको लिम्बूवान प्रदेशको माग गर्दै प्रदेश नं १ का मुख्यमन्त्रीलगायतका मन्त्रीहरु र सांसदहरुको मोबाइल नम्बरमा ‘लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर’ भनेर एसएमएस पठाउन थालिएको हो । विगतमा लिम्बूवान जन्य पहिचानवादी पार्टीहरुले गरेका आन्दोलनबाट लिम्बुवान र नेपाल सरकार विच विभिन्न सन्धि सम्झौताहरु हुदै आएका छन् ।
लिम्बुवान आन्दोलन संगसंगै लिम्बुवानका आदिवासी जनजातीहरु संग पनि नेपाल सरकारले पटकपटक सन्धि सम्झौताहरु गरेका छन् । सम्झौताहरुसँग जोडिएको आन्दोलन सम्पुर्ण नेपाली नागरिकसँग सम्बन्धित भएको संघिय लिम्बुवान मञ्चका पाँचथर अध्यक्ष सागर केरुङले बताएका छन् ।
१५ बर्षको निरन्तर आन्दोलनमा लिम्बुवान आन्दोलनले बन्दहड्ताल, चक्काजाम, भोकहड्ताल, कालो झन्डा प्रदर्शन, कालो पट्टि प्रदर्शन, लठि जुलुस, राँके जुलुस, सिटि जुलुस, मार्चपास, सिंहदरबार घेराउलगायतका आन्दोलन गरेका छन् ।
त्यस्तै लिम्बुवान अकुपाइ, कविता मार्फत लिम्बुवानको माग, सडकमा फुटबल खेल्दै लिम्बुवानको माग, नाटक मन्चनमार्फत लिम्बुवानको माग, मोटरसाइकल र्याली, रिक्सा र्याली जस्ता नयाँ नया ढंगबाट आन्दोलन गरीएको अध्यक्ष केरुङको भनाइ छ ।
त्यसैगरी आमसभा, चलचित्रमार्फत लिम्बुवानको माग, दर्जनौं कितावहरुमार्फत लिम्बुवानको माग, बिज्ञप्ती मार्फत लिम्बुवानको माग, ज्ञापनपत्र मार्फत लिम्बुवानको मागपनि गरेको उनको भनाइ छ ।
घोषणापत्र मार्फत लिम्बुवानको माग, केलाङ र यालाङ ,माङ्लाङ, कौडा, दौडा, साकेला, बालन, संगीनी मार्फत लिम्बुवानको माग, गीत, संगीत, साहित्यमार्फत लिम्बुवानको माग र आन्दोलनहरु भइसकेको केरुङको भनाइ छ ।
उक्त आन्दोलन बारे नेपालका सक्तमा पक्षले बिर्सिएको केरुङको भनाइ छ । केरुङ भन्छन ‘हामी आन्दोलनकारी र बिश्वका शक्तिशाली मुलुकहरु र इयु, संयुक्त राष्ट्रसंघहरुले देखिरहेको छ, प्रमाण राखिरहेको छ ।’
वर्तमान लिम्बुवान आन्दोलनको लागि यो एसएमएस आन्दोलन शक्तिशाली र ऐतिहासिक आन्दोलन भएको केरुङको भनाइ छ ।



















































