तनहुँ : व्यास–३ मा रहेको जिल्लाकै ठुलो दमौली अस्पतालमा प्रसुती सेवा ठप्प भएको छ । अस्पतालका प्रमुख डाक्टर पवनजङ रायमाझीको इलाम सरुवा भएसँगै प्रसुती सेवा ठप्प हुन पुगेको हो । सेवा ठप्प भएपछि ग्रामीण भेगका अधिकांश गर्भपती महिला प्रभावित बनेका छन् ।
अस्पतालले गर्भपती महिलालाई निशुल्क प्रसुती सेवा दिंदै आएको भएतापनि डाक्टर रायमाझीको सरुवा भएसँगै सेवाग्राही मर्कामा परेका छन् । तनहुँ, गोरखा र लमजुम का केही भागका सेवाग्राही समेत अस्पतालमा आउने गरेका भएपनि चिकित्सक अभावले उनीहरु पोखरा जानुपर्ने बाध्यता भएको छ । दमौली अस्पतालका सुचना अधिकारी सुरेश पाण्डेले डाक्टरको सरुवा भएसँगै अस्पतालमा समस्या थपिएको बताए । “अस्पतालमा विशेषज्ञ डाक्टर एकजना मात्र हुनुहुन्थ्यो, वहाँ पनि सरुवा मिलाएर जानुभयो” उनले भने “प्रसुती सेवा हेर्ने चिकित्सक नै नभएपछि अस्पतालमा प्रसुती सेवा ठप्प हुन पुगेको हो ।
जिल्लाकै ठुलो अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव भएपछि सर्वसाधारणलाई समस्या भएको छ । विशेषगरी ग्रामीण भेगबाट आउने गर्भवती महिला समस्यामा परेका हुन् । व्यास ४ का स्थानीय रिता तामाङले आर्थिक स्थिति न्युन भएका ग्रामीण भेगका महिलाहरु बढी मात्रामा प्रभावित हुने गरेको बताइन् ।
“मानिसको आधारभुत आवश्यकता स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पर्याप्त मात्रामा चिकित्सक नहुनु राज्यको कमजोरी हो, यस्ता संवेदनशील क्षेत्रको खोजी गरी अपुग भएको ठाउँमा तुरुन्त चिकित्सक पठाउने व्यवस्था मिलाउनु पर्छ,” उनले भनिन् “स्वास्थ्य जस्तो संवेदनशील विषयमा बेलैमा ध्यान पुर्याउन सकिएन भने विरामीको ज्यानै जाने खतरा हुनसक्छ, त्यसैले यस्ता क्षेत्रहरुमा राज्यको ध्यान पुग्नु जरुरी छ ।”
अस्पतालले महिलाको स्थिति हेरेर अप्रेशन गर्नुपर्ने भए अस्पतालमै अप्रेशन गर्ने गरेको थियो भने जटिल केश भए पोखरा रिफर गर्ने गर्दथ्यो । गर्भवती महिलालाई पनि विशेषज्ञ चिकित्सक यहीं नै हुँदा समयसमयमा चेकजाँच गर्न सहज थियो । डाक्टर रायमाझीको सरुवा भएको दुई हप्ता पुग्न लाग्दा समेत राज्यले अर्को डाक्टरको व्यवस्था गर्न सकेको छैन । अहिले सर्वसाधारण पोखरा जानुपर्दा एकातिर कठिन भएको छ भने अर्कोतिर पैसा धेरै खर्च हुने अवस्था छ ।
छानविन चल्दाचल्दै डाक्टरको सरुवा
अस्पतालमा आर्थिक अनियमितता गरेको जनगुनासो आएपछि डाक्टर रायमाझी माथि छानविन गर्न जनप्रतिनिधिको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको थियो । व्यास ३ का अध्यक्ष प्रेम कुमार श्रेष्ठ संयोजक रहेको समितिले छानविन प्रक्रिया अघि बढाएका बेला डाक्टर रायमाझी सरुवा मिलाएर गएका हुन् । अस्पतालमा गठित छानविन समितिले केही दिन भित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।
अध्यक्षलाई थाहै नदिइ पुर्व अध्यक्षले गरे विदाई
दमौली अस्पताल विकास समितिका अध्यक्ष बसन्त वहादुर आलेलाई थाहा नै नदिकन डाक्टर रायमाझी सरुवा भएर गए । उनलाई अस्पतालका पुर्व अध्यक्ष हरिराज कडेलले सुटुक्क विदाई गरेका थिए । पछिल्लो समय अस्पतालमा व्यापक अनियमितताको गुनासो बढेसँगै अध्यक्ष आलेले हिसाव किताव खोज्न थालेसँगै अस्पताल प्रमुख डाक्टर रायमाझी अध्यक्षसँग असन्तुस्ट भएका थिए ।

















































