प्रधानमन्त्री ओलीको प्रश्न- गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय तथ्यांक प्रस्तुत गरे ।

दातृ निकायहरु एवं छिमेकी देशहरुले प्रतविद्धता गरेको रकमबारे समेत प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काममा धुर्मुस सुन्तलीले पुर्‍याएको योगदानको प्रशंशा गर्दै खेलकुद मन्त्रीसमेत कुदेर धुर्मुस सुन्तलीलाई भेट्न जाने अवस्था आएको बताए ।

प्रधानमन्त्री ओलीको सम्वोधनको अश उनकै शब्दमाः

भूकम्पमा हामीले ठूलो क्षति व्यहोरेका थियौं । हामीसँग भएको रेकर्ड अनुसार ८९७९ जनाको निधन भएको थियो । २२३०९ घाइते भएका थिए ।

भूकम्पबाट ७०६ अर्बको अनुमानित क्षति भएको थियो । ७६७७०५ जना आवासविहीन भएका थिए । ७५५३ वटा शिक्षण संस्थानहरु नोक्सान भएका थिए ।

स्वास्थ्य संस्थाहरु ११९७ वटा क्षति भएका थिए । सरकारी भवनहरु ३७९ वटा नोक्सान भएका थिए ।

महत्वपूर्ण पुरातात्विक सम्पदाहरु ७५३ वटा नष्ट भएका थिए । सुरक्षा निकायका ३८३ वटा भवनहरु ध्वस्त भएका थिए । जोखिमयुक्त वस्ती २८० वटा थिए, जसमा ३७९४ घरधुरी जोखिममा थिए ।

हाम्रो गति धीमा छ । तर, यसवीचमा हामीले केही प्रगति पनि गरेका छौं । केही पनि भएकै छैन भन्ने होइन, केही भएको छ ।

विभिन्न उतार-चढावहरु, त्यसभित्र म जान चाहन्न । ..४१६२६ वटा घरहरु निर्माण गरिसकेका छौं र हस्तान्तरण भएका छन् । अहिले ४३६३५० घरहरु, आवासगृह निर्माण भइरहेका छन् ।

सार्वजनिक विद्यालय ३६१३ वटा निर्माण भइसकेका छन् भने १७१९ वटा निर्माण भइरहेका छन् । स्वास्थ्य संस्थाहरु १२६६ वटा निर्माण सम्पन्न भएका छन्, १८० वटा निर्माण भइरहेका छन् । सरकारी भवन २२० वटा निर्माण सम्पन्न भइसकेका छन्, १४७ वटा निर्माण भइरहेका छन् ।

पुरातात्विक सम्पदाहरुमध्ये १०० तयार भएका छन्, ३२९ वटा पुनर्निर्माण भइरहेका छन् ।

सुरक्षा निकायका ७९ भवनहरु निर्माण भइसकेका छन् । १२६ वटा निर्माण भइरहेका छन् । ३८८ वटा घरपरिवारलाई असुरक्षित स्थानबाट सुरक्षित स्थानमा सारेका छौं ।

बाँकी कामहरु हामीले तीव्रताका साथ गर्नुछ । एकातिर हामीसँग दक्ष जनशक्ति छैन । केही केही कानूनी जटिलता छ । केहीकेही बैंकिङ प्रक्रियाका जटिलताहरु छन् । केही केही हामीसँग काम गर्ने म्यानपावर छैन । मलेसिया र खाडीमा युवाहरु गएका छन् । यहाँ गाउँमा काम गर्ने मान्छे छैन । योखालको स्थिति पनि छ ।

यी कुराहरुलाई पनि ध्यानमा राखेर हामीले सकेसम्म अनुकूल स्थितिको सिर्जना गर्ने र तीव्रता दिने काम गरिरहेकै छौं । यसमा लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार