मन्त्रिपरिषद् बैठकमा गएनन् माओवादी मन्त्री
बुधबार पार्टी हेडक्वार्टरले ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिटब्युरो सहित ९ सय ९९ केन्द्रीय सदस्य थप्ने योजना बनाए पनि पोलिटब्युरोले त्यसलाई अझै बढाएको हो । वर्षमान पुनको नेतृत्वमा माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन गठित उच्चस्तरीय कार्यदल बैठकले त्यसको प्रस्ताव गरेको हो ।
जेठ ६ गते एकीकृत भएको माओवादी केन्द्रको सोही दिन पारित अन्तरिम विधानमा पोलिटब्युरोको मातहत रहने गरी हेडक्वार्टरले तत्काललाई काम गर्ने नियमावली अनुरुप पुन नेतृत्वमा गठित कार्यदलको सिफारिश पोलिटब्युरोमा राखेको हो ।
माओवादी केन्द्रीय सदस्यको संख्या झन्डै महाधिवेशन प्रतिनिधि बराबर हुन जानेछ । ठूला दलमध्ये कांग्रेसको केन्द्रीय कार्यसमितिमा ८५ र एमालेको केन्द्रीय कमिटीमा ९९ सदस्य छन् ।
यसअघि ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनिसकेकामा विगतको एमाओवादीबाट आएकाले असन्तुष्टि जनाएपछि ३ सय सदस्य थप्ने गृहकार्य पुनको कार्यदलले पाएको हो ।
माओवादी विधानअनुसार केन्द्रीय समितिको एक तिहाई सदस्य पोलिटब्युरो हुने, त्यसको एक तिहाई सदस्य स्थायी समिति रहने प्रावधान छ । माओवादीले यसै वर्षको अन्त्यमा महाधिवेशन गरिसक्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकमार्फत गरिसकेको छ ।
मन्त्रिपरिषद्मा गएनन् माओवादी मन्त्री
माओवादी केन्द्रका मन्त्री पोलिटब्युरो बैठकमा व्यस्त रहेको जनाउ दिँदै बिहीबारको नियमित मन्त्रिपरिषद बैठकमा गएनन् । प्रधानमन्त्री निकट स्रोतले बैठकको बीचमा सिंचाई मन्त्री उमेश यादव एकै छिन आएको, बाँकी मन्त्री पार्टी बैठकमै व्यस्त रहेकाले बैठकमा नआएको जानकारी दिए ।
-इकान्तिपुरबाट



















































