प्रतिनिधिसभा निर्वाचन : कांग्रेस इलाम–१ बाट चक्र एक्तेन समानुपातिकतर्फ सिफारिस

  नयाँ बुलन्द
1.3k Shares

चक्र एक्तेन (अभिषेक)

इलाम : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले इलाम-१ बाट समानुपातिक खुला तर्फ चक्र एक्तेन (अभिषेक) को नाम सिफारिस गरेको छ । कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक लिम्बू संघका केन्द्रीय सहमहामन्त्री रहेका एक्तेनलाई क्षेत्रीय कार्यसमिति क्षेत्रीय संसदीय बोर्डबाट उम्मेद्वारका लागि पहिलो नम्बरमा सिफारिस गरेको हो ।

एक्तेन कांग्रेस इलामका पूर्व जिल्ला सदस्य हुन् । एक्तेन केवल पार्टीभित्र सीमित नाम होइनन्; उनी सामाजिक नेतृत्व र समुदायिक सक्रियताका कारण पनि चिनिन्छन् । आदिवासी जनजातिको हकहितका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका उनी इलाममा आदिवासी समुदायका प्रभावशाली अभियन्ता मध्ये एक हुन् । समुदायमाझ उनको लोकप्रियता र सामाजिक योगदानलाई ध्यानमै राखेर उनको नाम सिफारिस गरिएको देखिन्छ ।

हाल एक्तेन नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष र किरात याक्थुङ चुम्लुङका संघीय सचिवका रूपमा सक्रिय छन् । विद्यार्थी राजनीति हुँदै अघि बढेका उनले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका विभिन्न इकाइ समितिमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । राजनीतिक र सामाजिक क्षेत्र दुवैमा समान रफ्तारले सक्रिय एक्तेन कांग्रेसको उदयीमान नेतृत्वका रूपमा हेरिन थालेका छन् ।

मङ्गलबार बसेको क्षेत्रीय कार्यसमितिको क्षेत्रीय संसदीय बोर्डको बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । बैठकले  पूर्वराज्यमन्त्रीद्वय बेनुपराज प्रसाईं र केशव थापा, संविधानसभा सदस्य टीकाराम लाप्चा, जिल्ला सभापति डम्बरबहादुर खड्का, महासमिति सदस्य भेषराज आचार्य, नेताहरू नगेन्द्र बुढाथोकी‚ प्रदेशसभा क्षेत्रीय सभापति निष्कल राई‚ भूपेन्द्र कट्टेल र हरिप्रसाद लुइँटेललाई सिफारिस गरेको छ ।

समानुपातिक प्रणालीमा खुलातर्फ एक्तेनसहित भीष्म प्रधान र महिलातर्फ अनिता श्रेष्ठ र कुसुम दाहालको नाम सिफारिस गरी पठाएको छ। अब सिफारिस केन्द्रमा पुगेर अन्तिम मनोनयन सूचिमा कसरी रूपान्तरित हुन्छ भन्ने विषय पार्टी रणनीतिसँग जोडिएको रहनेछ ।

आगामी निर्वाचनमा पार्टीभित्रको प्रतिनिधित्व, समुदायको चाहना र राजनीतिक समीकरणले ठूलो भूमिका खेल्ने भएकाले कांग्रेसले गरेको यो सिफारिस आगामी दिनमा कत्तिको निर्णायक बन्छ भन्ने हिसाबले राजनीतिक वृत्तमा उत्सुकता बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार