
इलाम : साम्लिङ हाईड्रोपावर कम्पनी प्रा.लि का अध्यक्षसँग हिजो भएको वार्ता असफल भएपछि इलाम नगरपालिका–८ महभिरका अति प्रभावित स्थानीयवासी आज माइखोला खण्डमा रहेको माइ बेनी जलविद्युत आयोजना (९.५१ मेगावाट) कब्जा गर्दै उग्र आन्दोलनमा उत्रिएको छन्।
महभिर गाउँको घर–आँगन काखमै निर्माण तथा सञ्चालित जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गर्नुपर्ने शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, रोजगारी, सामाजिक विकासलगायतका कुनै पनि क्षेत्रका काममा ध्यान नदिई उपेक्षा र गैरजिम्मेवारी मात्र देखाएको स्थानीयहरूको आरोप छ।
अध्यक्ष पक्षले पटक–पटक स्थानीय मागलाई बेवास्ता गर्दै आएका कारण चरणबद्ध संघर्ष अघि बढेको र अन्ततः आज आयोजना परिसरमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय डिकेन्द्र दाहालले नयाँ बुलन्द लाई बताए।
दाहालका अनुसार गाउँवासीहरूले वर्षौँदेखिको अन्याय, वाचा विपरीतको व्यवहार, वातावरणीय क्षति, प्रभाव पारिएको जमिनको उचित क्षतिपूर्ति नपाएको, स्थानीय युवालाई रोजगारी नदिएको, र समुदाय विकासमा ‘शून्य योगदान’ देखिएको भन्दै कम्पनीसँग तत्काल समाधान खोज्दै आएका थिए।
तर अध्यक्षको “गैरजिम्मेवारीपूर्ण व्यवहार” ले परिस्थितिलाई झनै चर्काउँदै लैजाँदा आज अति प्रभावित समुदाय आयोजनाकै परिसर कब्जा गरेर कडा कदम चाल्न पुगेका हुन्।
हाल स्थानीय प्रहरी, जनप्रतिनिधि तथा मध्यस्थकर्ता पक्षले संवाद पुनः सुरु गर्ने प्रयास गरिरहेको भए पनि आन्दोलनकारी स्थानीयवासी भने माग पूरा नभएसम्म संघर्ष जारी रहने बताउँदैछन्।
स्थिति तनावग्रस्त भए पनि नियन्त्रणमा रहेको जनाइएको छ।





































































