
इलाम — इलाम नगरपालिका–९ स्थित राजदुवालीको माईखोला किनारमा एक अद्भुत धार्मिक घटना सार्वजनिक भएको छ। स्थानीय एक कन्याको सपनामा देवी पाथिभरा माताले स्वयं प्रकट भई “शिला” रहेको स्थान देखाएकी बताइएको छ।
सपना अनुसार स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा साँच्चिकै शिला फेला परेको हो। यस घटनाले इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।
तर, शिलालाई कन्याको घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने कि माईखोला किनारमै राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। सो विवादकै कारण हाल शिलालाई त्यही स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बताएका छन्।
धेरै श्रद्धालुहरूले यसलाई पाथिभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन्। घटनाले इलाम नगर क्षेत्रको धार्मिक वातावरण झन् जीवित बनाएको छ। अहिले स्थानीय प्रशासनदेखि जनप्रतिनिधिसम्मको ध्यान सो विषयतर्फ केन्द्रित भएको छ।
राजदुवाली माईखोलाको यो धार्मिक घटनाले इलामको सामाजिक–धार्मिक जीवनमा नयाँ अध्यायको सुरुवात गरेको धेरैको विश्वास छ।






















































