फलोअपः परिमार्जित ‘दोस्रो याम्बातपुङ गोल्डकप–०८२’ कार्तिक २५ देखि ३० गतेसम्म संचालन हुँदै

  युद्धबहादुर बोहोरा
252 Shares

पाँचथरः  पाँचथरको फाल्गुनन्द–५, फाक्तेपस्थित याम्बातपुङ खेलमैदानमा ‘दोस्रो याम्बातपुङ गोल्डकप’ खुला नकआउट फुटबल प्रतियोगिता कार्तिक २५ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसरमा २५ गतेदेखि शुरु हुने पुरुष तथा महिला खुला नकआउट फुटबल प्रतियोगिता ३० गते सम्पन्न हुनेछ।

यसअघि सार्वजानिक गरिएको समापन समय, पुरस्कार राशी, इन्ट्री शुल्क र सहभगी टिमलगायत भेट्रान्ससमेत थप गरि परिमार्जन गरेर शनिवार पुनः खेल तालिका सार्वजानि गरेको छ ।

प्रतियोगिताको याम्बातपुङ एफ.सी. ब्राइट स्टार युवा क्लबको आयोजनामा हुनेछ । क्लबका सचिव सालाहाङ नेम्वाङका अनुसार प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी तीनै विधामा सञ्चालन हुनेछ। यस प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने र समुदायबीच खेलकुदको माध्यमबाट एकता सन्देश प्रवाह गर्ने रहेको क्लबले जनाएको छ।

पुरुष समूहमा आठ टिम सहभागी हुनेछन् भने पहिलो हुने टिमले नगद ७५ हजार १५० रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ५० हजार १५० रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ। महिलातर्फ चार टिम सहभागी हुनेछन्। सो समूहको विजेताले १५ हजार १५० रुपैयाँ र उपविजेताले १० हजार १५० रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, भेट्रान्स समूहमा पनि चार टिम सहभागी हुने छन्। सो समूहमा पहिलो हुने टोलीले २० हजार १५० रुपैयाँ र दोस्रो हुने टोलीले १० हजार १५० रुपैयाँ पुरस्कार पाउनेछ। भेट्रान्स समूहका खेलाडीमध्ये तीन जना ३६ वर्षका र बाँकी छ जना ४० वर्ष वा सोभन्दा माथिका हुनुपर्नेछ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई एक हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ दिइनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर र हाईस्कोररलाई दुई-दुई हजार र अनुशासित टिमलाई नगद तीन हजार पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट टिम मेनेजरलाई दुई हजार रुपैयाँको नगद पुरस्कार दिइने क्लबले जनाएको छ।प्रतियोगिता एन्फाको नियम अनुसार सञ्चालन गरिनेछ। हरेक टिमका खेलाडीले एउटै रंगको जर्सी, बुट, प्याड र मोजा अनिवार्य रूपमा लगाउनुपर्नेछ। खेललाई सफल बनाउन स्थानीय दाताहरू र वैदेशिक रोजगारीमा रहेका युवाहरूबाट सहयोग संकलन अभियान पनि सुरु गरिएको क्लबका सचिव नेम्वाङले जानकारी दिए।

गत वर्षको पहिलो याम्बातपुङ गोल्डकपमा २४ टिम सहभागी भएका थिए, जसमा इलामको फाकफोकथुम–४ स्थित फुएतप्पा एफ.सी. विजेता बनेको थियो। इन्ट्री दर्ता कार्तिक १५ गतेदेखि खुला हुनेछ। पुरुषतर्फ इन्ट्री शुल्क पाँच हजार र धरौटी दुई हजार तोकिएको छ। महिलातर्फ इन्ट्री शुल्क तीन हजार र धरौटी एक हजार तथा भेट्रान्सतर्फ इन्ट्री पाँच हजार र धरौटी एक हजार रुपैयाँ रहनेछ। अनलाइन इन्ट्रीका लागि ९८१७९२७८७७, ९७६२९९२७०६, ९७०१०५९८२० र ९८०८१३४४२४ मा सम्पर्क गर्न सकिने क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार