
इलाम : १८ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ७ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७२ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको शनिबार पत्रकार सम्मेलन गरी आयोजक आत्मा-पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने निश्चित भएको अध्यक्ष आङबुहाङले बताए ।
प्रतियोगितामा नेपालबाट डिफेन्डिङ च्याम्पियन दुधे युथ क्लब झापासहित, माङसेबुङ गाउँपालिका, युथ अफ माङसेबुङ, तुजोक युवा क्लब, भाङबारी स्पोर्टिङ क्लब, सिरीजङ्गा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्लब सहभागी हुनेछन् । त्यसैगरी पाहुना टोलीको रुपमा भारतको सिलिगुढीबाट कञ्चनजङ्घा फुटबल क्लब सहभागी हुने निश्चित भएको जानकारी गराईयो ।
प्रतियोगिताको फाइनल मङ्सिर १७ गते हुनेछ । विजेताले नगद तीन लाख ११ हजार एक सय ७२ र उपविजेताले नगद दुई लाख ११ हजार एक सय ७२ पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, फर्वडर र उत्कृष्ट गोलकिपरलाई जनही आठ हजार एक सय ७२ पाउनेछन् ।
जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँण हुन्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।






















































