काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार (कात्तिक २०) भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता तथा कार्यकर्तासँग बोल्दै उनले सो कुरा बताएका हुन्।
ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर गरे । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको उनको भनाइ छ ।
‘यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भङ्ग गरेको हो भने, देशलाई बेलगाम छाडातन्त्रमा चलाउनका लागि गरेको हो । यो असंवैधानिक ढङ्गले भङ्ग गरिएको हो, सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका हुन्,’ ओलीले भने, ‘संविधानको कुनै धारामा आधार नहुने गरी राष्ट्रपतिज्यूले प्रतिनिधिसभा भङ्ग गर्नुभएको छ, गर्नु हुँदैनथ्यो। त्यसैले हामी विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्छौँ, त्यसका लागि आन्दोलन गर्छौँ र अघि बढ्छौँ।’
संविधान विपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै त्यसको पुनर्स्थापनाको माग गर्दै अघि बढ्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीको भनाइ थियो।






















































