
इलाम : इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित एक गृल उद्योगमा बिहीबार मध्यदिउँसो आगलागी हुँदा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दा र उद्योगीले आगो नियन्त्रणमा लिएपछि मात्र नगरपालिकाको दमकल घटनास्थल पुगेको भन्दै स्थानीयले नगरपालिकाको चरम लापरबाहीको आरोप लगाएका छन् । आगलागीका कारण लाखौँ मूल्यको सामान जलेर नष्ट भएको छ । स्थानीयले समयमै दमकल आइपुगेको भए क्षति कम हुने दाबी गरेका छन् ।
घटनास्थलमा रहेका स्थानीय रमेश फत्रले नगरपालिकाको दमकल ढिलो अाएकाे बताए । नगरपालिका कार्यालयबाट घटनास्थलको दूरी करिब ५ किलोमिटर मात्रै भए पनि दमकल पुग्न एक घण्टा लागेको उनको गुनासो छ ।“दमकल अत्यावश्यक सेवाका लागि हरदम ‘स्ट्यान्डबाइ’ रहनुपर्ने हो । तर, नगरपालिकाले अन्य प्रयोजनमा समेत दमकल प्रयोग गर्ने गरेको छ,” फत्रले भने, “ नगरपालिकाको यो लापरबाहीले हामीले ठूलो क्षति भोग्नुप¥यो ।”
घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय ठाकुर नारायण श्रेष्ठले आगोले उद्योग निल्दै गर्दा नगरपालिकाको दमकललाई पर्खिनुको पीडा रहेकाे बताए । उनले भने, “हामीले देख्दादेख्दै उद्योग खरानी भयो। नगरपालिकाको दमकल सधैँ यस्तै हो, खबर गरेको घन्टौँपछि मात्र आउँछ । दमकल भनेको त आपतविपतमा सबैभन्दा पहिले पुग्नुपर्ने साधन हो, तर यहाँ त आगो निभिसकेपछि मात्र दमकल देखापर्छ। जनताको ज्यान र सम्पत्ति बचाउने बेला यति धेरै ढिलासुस्ती गर्ने? यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ?”
उता, घटनास्थलमा पुगेका एक नगर प्रहरीले दमकलको अवस्थाबारे उल्टै स्थानिय सँग गुनासो राखेका छन् । नाम नबताउने सर्तमा उनले दमकल प्राविधिक रूपमा अत्यन्तै कमजोर रहेको बताए । “यो दमकल उकालो बाटोमा लोड बोकेर गुड्दै गुड्दैन । पटक–पटक मर्मत हुन्छ, तर समस्या जस्ताको तस्तै छ,” ती प्रहरीले भने । उनले आगलागी नियन्त्रणमा खटिँदा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री समेत आफूहरूसँग नभएको पिढा पोखे । “नगरपालिकासँग पटक–पटक माग गर्दा पनि सुनुवाइ भएको छैन,“ उनले दुखेसो पोखे ।
नगरपालिकाको बचाउ “३८ मिनेटमै पुगेका हौँ”
स्थानीय र कर्मचारीको गुनासोबारे इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले भने फरक धारणा राखेका छन् । उनले दमकल ढिलो पुगेको भन्ने कुरा हल्ला मात्र भएको दाबी गरे । “हामीलाई खबर आएको ३८ मिनेटभित्रै दमकल घटनास्थल पुगेको थियो,” उनले भने, “दमकल चुस्त अवस्थामा छ, त्यसमा कुनै समस्या छैन ।”
नगर प्रहरीसँग सुरक्षा सामग्री नभएको विषयलाई भने उनले स्विकारेका छन् । “पछिल्लो समयको आन्दोलनका क्रममा सुरक्षा सामग्री नष्ट भएका थिए। ती सामग्री खरिद गर्न महँगो पर्ने भएकाले प्रक्रियामा छौँ,” खड्काले भने । समयमा दमकल नपुग्दा भएको क्षति र दमकलको दयनीय अवस्थाबारे स्थानीयले नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन । तत्काल दमकलको मर्मत र सुरक्षा सामग्रीको व्यवस्थापन नभए थप दुर्घटना हुन सक्ने भन्दै उनीहरू चिन्तित बनेका छन ।



















































