
इलाम : गजुरमुखी धाम कप फुटबल प्रतियोगिता आज (आइतबार) देखि सुरु हुँदैछ । कार्तिके पूर्णिमा धार्मिक मेलाको अवसरमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कार्तिके पूर्णिमा मेला आयोजक समिति अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।
पहिलो दिन चारवटा खेलहरु हुनेछन् । पहिलो खेलमा जुनतारा एफसी र फ्युचर एफसी, दोस्रो खेलमा एनवाईसी र माङसेबुङ-१, तेस्रो खेलमा लुम्दे एफसी र किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ एवम् चोथो खेलमा एमसीएफसी माङमालुङ र फुङ्वा एफसीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
माङसेबुङ गाउँपालिका-१ गजुरमुखी धामस्थित गजुरमुखी सामुदायिक खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न १६ वटा टिमको सहभागिता रहने अध्यक्ष नेम्बाङले जानकारी दिए ।
प्रतियोगिताको फाइनल कात्तिक १९ गते हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाकारी दिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।























































