गजुरमुखी धामकप : आज पाँच खेल हुँदै

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी गजुरमुखी धामकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार (आज) पाँच खेल सञ्चालन हुनेछन् ।

पहिलो खेलमा आङदान एफसी र फाल्गुनन्द एफसी, दोस्रो खेलमा थ्रिस्टरा एफसी र ब्रदर्श एफसी, तेस्रो खेलमा चुक्चीनाम्बा एफसी र रवि एफसी, चौथो खेलमा चुम्बेवा एफसी र चुलाचुली एफसीबीच प्रतिष्पर्धा हुनेछन् ।

त्यस्तै दोस्रो चरण एवम् क्वाटरफाइनलको पहिलो खेल पनि सोमबार नै हुनेछ ।  पहिलो क्वाटरफाइनल खेलमा फ्युचर एफसी र लुम्दे एफसीबीच प्रतिष्पर्धा हुने खेल उपसमिति संयोजक मिलन योङहाङले जानकारी दिए ।

कार्तिके पूर्णिमा धार्मिक मेलाको अवसरमा आइतबार प्रतियोगिता सुरु भएको हो । आइतबारको खेलमा फ्युचर एफसी, माङसेबुङ-१, लुम्दे एफसी र फुङ्वा एफसी विजयी भइ क्वाटरफाइनल प्रवेश गरेको थियो ।

पहिलो खेलमा जुनतारा एफसीलाई १-० गोल अन्तरमा पराजित गर्दै फ्युचर एफसी विजयी बन्यो । दोस्रो खेलमा एनवाईसीलाई २-० गोल अन्तरमा पराजित गर्दै माङसेबुङ-१ विजयी बन्यो भने तेस्रो खेलमा किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ लाई २-० गोल अन्तरमा पराजित गर्दै लुम्दे एफसी विजयी बन्यो । चौथो खेलमा एमसीएफसीलाई ३-१ गोल अन्तरमा पराजित गर्दै फुङ्वा एफसीबीच बन्यो ।

स्थानीय गजुरमुखी सामुदायिक खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङले गरेका थिए । कार्यक्रममा नेम्बाङले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता जनाए ।

मेला आयोजक समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल कात्तिक १९ गते हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाकारी दिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार