
इलाम : इलामको माङसेबुङ गाउँपालिका-४ स्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक हुँदाहुँदै कनिष्ठ शिक्षकलाई निमित्त प्राधानाध्यापकको जिम्मेवारी दिएपछि शिक्षकबीच विवाद चुलिएको छ ।
तत्कालीन प्रधानाध्यापक देवीरमण ढकालले आफू अवकास भएपछि सहायक प्रधानाध्यापक शक्तिकुमार साम्बा हुँदाहुँदै कनिष्ठ शिक्षक रामप्रसाद आचार्यलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएपछि विवाद चुलिएको हो । गत असोज १४ गते अनिवार्य अवकास हुनुभएका तत्कालीन प्रअ ढकालले गत असोज १३ गते सबैभन्दा कनिष्ठ शिक्षक आचार्यलाई निमित्त प्रअको जिम्मेवारी दिएको पाइएको छ ।
आर्चायले सोही दिनदेखि निमित्त प्रअको जिम्मेवारी सम्हालेपछि शिक्षकबीच विवाद सुरु भएको थियो । अहिले सो विवाद छताछुल्ल भएको छ । सहायक प्रअ साम्बासहित ३ जना वरिष्ठ शिक्षकले अवकास प्रअले दिएको निमित्त प्रअको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिले खारेज गरी वरिष्ठताका आधारमा निमित्त प्रअको जिम्मेवारी दिन माग गरेका छन् ।
‘विद्यालयका पूर्व प्रअ देवीरमण ढकालले आफू अवकासमा जाने क्रममा हामी तीनजना वरिष्ठ स्थायी शिक्षक हुँदाहुँदै विना जानकारी सबैभन्दा कनिष्ठ शिक्षक रामप्रसाद आचार्यलाई निमित्त प्रअको जिम्मेवारी दिनुभएको छ,’ सहायक प्रअ साम्बाले भने, ‘यो विद्यालको आर्थिक र प्रशासनिक स्वार्थसँग जोडिएको छ, विद्यालय व्यवस्थापन समितिले तत्काल खारेज गरी वरिष्ठताका आधारमा निमित्त प्रअ नियुक्त गर्नुपर्दछ ।’
सहायक प्रअ साम्बासहित शिक्षकद्वय हिमकला चम्लागाईँ र मनिला राईले आज (मङ्गलबार) पत्रकार भेटघाट गरी शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ विपरित विपरीत नियुक्त निमित्त प्रअ खारेज गर्नुपर्ने माग राख्दै विद्यालय व्यवस्थापन समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उनीहरुले पाँच दिनको अल्टिमेटमसहित चार बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा अवैधानिक रुपमा बनेको निमित्त प्रअको नियुक्त खारेज गरी उहाँले निमित्त प्रअको हैसियतमा गर्नुभएको आजसम्मका सबै काम खारेज गर्नुपर्ने, शिक्षा नियमावली २०५९ को नवौं संसोधनको परिच्छेद १७ को नियम ९३ को उपनियम १२ बमोजिम वरिष्ठतम स्थायी शिक्षकमध्येबाट निमित्त प्रअ नियुक्त गर्नुपर्ने, विद्यालयको आयव्यय पारदर्शी हुनुपर्नेलगायतका माग छन् । पाँच दिनभित्र सम्बोधन नभए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
अवकाशप्राप्त ढकाल मावि तहको स्थायी शिक्षक थिए । उनको स्थान रिक्त छ । हाल सो विद्यालयमा माध्यमिक र निम्न माध्यमिक तहमा कुनैपनि स्थायी शिक्षक छैनन् । प्राथमिक तृतीय तहका शिक्षक साम्बालाई वरिष्ठताका आधारमा विद्यालय व्यवस्थापन समितिले २०८१ साल जेठ ३२ गते सहायक प्रअमा नियुक्त गरेको थियो ।
साम्बा प्रावि तृतीय तहमा २०७५ चैत २८ गते स्थायी नियुक्त भएका हुन् । सोही तहकै सोही मितिमा स्थायी नियुक्त हिमकला चम्लागाईँ र २०७६ मङ्सिर १६ गते स्थायी नियुक्त मनिला राई हुँदाहुँदै २०७९ मा प्रावि तृतीय तहमा नियुक्त रामप्रसाद आचार्यलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद भएको हो ।
‘म वरिष्ठ मात्र होइन, सहायक प्रअ पनि हो । तर मलाई नै थाहा नदिई रातारात कनिष्ठ शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिइनु नियमविपरीत मात्र होइन हामी वरिष्ठ शिक्षकहरुको अपमान पनि हो,’ साम्बाले भन्नुभयो, ‘यसलाई विद्यालय व्यवस्थापन समितिले चाँडो हल गर्नेमा विश्वस्त छु ।’
माङसेबुङ शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय गर्ने बताए । ‘निमित्त प्रअको जिम्मेवारी दिने अधिकार प्रअको हुन्छ, त्यतिबेलाको प्रअल त्यही गर्नुभएको होला,’ उनले भने, ‘त्यो समस्या गाउँपालिकाको होइन, विद्यालयको नै हो । विव्यसले नै समाधान गर्नेछ ।’
वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन योङहाङले विधि पद्धतिअनुसार नै अगाढी बढ्ने बताए । ‘समितिको बैठकमा उहाँहरुलाई पनि राख्छौं, उहाँहरुसँगै बसेर छलफलर गरेर निर्णय गर्छौं,’ अध्यक्ष योङहाङले भने, ‘नियमभन्दा बाहिर कोही जान सक्दैन, हामी विधि र पद्धतिअनुसार नै गर्नेछौं ।’
उता निमित्त प्रअ आचार्यले आफूलाई दिईएको जिम्मेवारी पूरा गर्न भूमिका निर्वाह गरिरहेको बताए । ‘शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति गठन गर्न मलाई अनुरोध गरिएकाले काम सुरु गरेको हुँ, अहिले पनि काम गरिहरको छु,’ उनले भने ।
स्थानीय आषिस जवेगूले निमित्त प्रअ नियुक्ति षड्यन्त्रपूर्वक रहेको बताउँछन् । यसअघिका प्रअले विद्यालयका भ्रष्टाचारका विभिन्न काण्ड मिलाउनका लागि आफू अनुकुलको शिक्षकलाई निमित्त प्रअ नियुक्त गरेको उनको आरोप छ ।






















































