
इलाम : इलामको मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम सदरमुकाम इलाम बजारमा भव्यताका साथ मनाईएको छ । इलाम बजार मात्र नभई आसपासका गाउँ-गाउँबाट आएका मानिसहरूको बाक्लो उपस्थितिले सदरमुकामको वातावरण उल्लासपूर्ण बनेको थियो।
जात्रामा लोकधुनको तालमा सार मिलाउँदै सहभागीहरूले धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका गतिविधिहरूको अभिनय प्रस्तुत गरे । हली, बाउसे, रोपहारलगायतका पात्रहरू जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकहरूको भीडले ताली र जयकाराले स्वागत गरिरहेका थिए ।

त्यसैगरी लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रहरूको रोचक अभिनयले जात्रालाई थप मनोरञ्जनमय बनाएको थियो । स्थानीय इस्वर चिपालुले रोपाइँ जात्रालाई इलामको सांस्कृतिक पहिचानका रूपमा जोगाउँदै पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

इतिहासअनुसार सुगौली सन्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको मानिन्छ । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको यस वर्षको जात्रामा सबै जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेटिएका थिए ।

जात्रा अघिका दिनहरूमा नाग पञ्चमीदेखि लाखे नाचको आयोजना गरिन्छ भने लिम्बु समुदायले धान नाच प्रस्तुत गर्ने परम्परा पनि कायम छ । असार-साउन महिनामा धान रोपाइँ सकेपछि मैजारोको रूपमा रोपाइँ जात्रा मनाउने प्रचलन पुरानो हो ।
नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रबिण श्रेष्ठकाअनुसार यस जात्रामा सहभागी युवा-युवतीले आफ्ना जातीय पोशाकमा सुसज्जित भएर धान रोप्ने अभिनय गर्दै बजार परिक्रमा गरिएको साथै हलगोरु जोत्नेदेखि मुङग्रेको नाचसम्मका विविध प्रस्तुति जात्रामा देखाईएको बताए ।

स्थानीय बासिन्दादेखि बाहिरबाट आएका दर्शकसमेतले रोपाइँ जात्राबाट इलामको मौलिक संस्कृति र पहिचानको अनुभव लिन पाएको बताएका छन् । यसरी हरेक वर्षको भाँति यस वर्ष पनि रोपाइँ जात्राले इलामको सांस्कृतिक सम्पदा संरक्षण र समुदायबीचको एकता मजबुत बनाउन सहयोग गरेको छ।






















































