पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ घुर्विसे पञ्चमीमा संचालित शान्ति बालविकास बोर्डिङ स्कुलले वृक्षारोपण गर्दै विश्व वातावरण दिवस २०८२ मनाएको छ ।
‘प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने विश्वव्यापी नाराका साथ विद्यार्थीहरुले प्लेकार्ड लिएर बजार परिक्रमा गरे । त्यसपछि बजार नजिकै रहेको किराँत इतिहाँसकार तथा साहित्यकार इमानसिंह चेम्जोङको शालिक परिसरमा गुँरास र अन्य जातका विरुवा रोपेर दिवस मनाएको विद्यालय संचालक देउमान आङ्देम्बे (डिएम) ले जानकारी दिए ।
सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवसको महत्व विद्यार्थी बुझाउँदै उनीहरु मार्फत समाजमा जनचेतना विस्तार गर्न सहयोग पुग्ने उदेश्यले वृक्षारोपणको कार्यक्रम गरिएको उनले बताए । देशका कर्णधार विद्यार्थीले वातावरण संरक्षण किन आवश्यक छ र यसको असर के हुन्छ ? भन्ने बारेमा उनीहरुलाई जानकारी होस् भन्ने अभिप्रायले उनीहरुलाई फिल्ड भ्रमण गराइएको छ ।
इलाम र पाँचथर जिल्लाको सिमाना घुर्बिसे पञ्चमीमा २०५१ सालमा स्थापना भएको यस विद्यालयले आफ्नो स्थापनकालदेखि हरेक वर्ष विभिन्न गतिविधि र दिवसहरुमा कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा विद्यार्थीको चौतर्फी विकास गर्न रचनात्मक क्रियाकलाप गर्दै सन्देशमुलक र व्यवहारिक ढंगबाट काम गर्दै जाने जनाइएको छ । विद्यालयमा दुवै जिल्लाका विद्यार्थीले पढ्ने अवसर पाएका छन् । ग्रामीण भूगोलका विद्यार्थीलाई गुणस्तर शिक्षा दिदै आएको यस संस्थाले २०५८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको हो । साथै न्यून मासिक शुल्क र एक पटक भर्ना शुल्क लिएपछि पुनः भर्ना शुल्क नलिने नीति लिएको छ । टाढा गएर राम्रो शिक्षा लिने अवसर नपाएका आर्थिक अवस्था कम्जोर परिवारका विद्यार्थीलाई सहुलियतमा सेवा दिने र उनीहरुको उज्जवल भविष्यलाई मध्यनजर गर्दै अनुभवी शिक्षकको टिमले शान्त र स्वच्छ वातावरणमा अतिरिक्त क्रियाकलापका साथ पूर्ण अंग्रेजी माध्यमबाट सिकाइ गरिरहेकै कारण हरेक वर्षको उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले जनाएको छ ।
२०७१ सालको एसएलसीमा पाँचथर जिल्लाकै उत्कृष्ट नतिजा एवं उत्कृष्ट विद्यालय संचालन गरेको मुल्याङ्कन गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले प्रशंसासहित सम्मान गरेको विद्यालयका संचालक आङ्देम्वेले जानकारी दिए । ग्रामीण क्षेत्रमा शैक्षिक हवको रुपमा परिचित रहेको यस विद्यालयले विद्यार्थी र अभिभावकको मन जितेसंगै यस संस्था प्रति धेरैको आकर्षण बढेको छ । यस विद्यालयबाट शिक्षा हाँसिल गरेका अधिकाँश विद्यार्थीहरुले शैक्षिक उन्नती र हरेक क्षेत्रमा विभिन्न स्थानमा हाल अग्रता कायम गरिरहेको जनाउँदै कुनै ठाउँको गुणस्तर शिक्षा भन्दा यस विद्यालयको सिकाई प्रणाली कम्जोर नभएको विद्यालयले दावी गरेको छ ।