इलाम : प्रदेशस्तरमै पहिलो पटक फुलमती सोङ्मी स्मृति र्पापिड चेस प्रतियोगिता इलाम सदरमुकाममा हुने भएको छ ।
जिल्ला बुद्धिचाल संघ इलामको आयोजनामा र प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता आगामी जेठ २४ गते हुनेछ ।
प्रतियोगिता आयोजना गर्न पत्रकार तथा किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले आफ्नी आमा फुलमती सोङ्मीको सम्झनामा १ लाख रुपैयाँको आर्थिक सहयोग गरेकी छिन् । उनले भनिन्, “यो प्रतियोगिता आमाको सम्झनासँगै नयाँ खेलाडी उत्पादन गर्ने, बुद्धिचाल खेलको लोकप्रियता बढाउने र इलाममा राष्ट्रिय स्तरको प्रतिस्पर्धाको वातावरण तयार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।”
उनले आगामी वर्ष पनि यो प्रतियोगिता २०८२ सालको चैत्र ३० गते दोहोर्याएर आयोजना गर्ने घोषणा गरेकी छिन् ।
यसअघि माइजोमाइ गाउँपालिकाले जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो भने सूर्योदय नगरपालिकाले विद्यालय तहमा खेलाडी उत्पादनका लागि निरन्तर लगानी गर्दै आएको छ ।
तर, प्रदेशस्तरीय र्यापिड चेस प्रतियोगिता पहिलो पटक इलाममा आयोजना हुँदैछ, जसले बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला थपेको छ । प्रतियोगिता फिडे रेटिङ मान्य भएकाले कोसी प्रदेशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहनेछ ।
आयोजकका अनुसार, प्रतियोगिताले इलामका स्थानिय खेलाडीहरूलाई राष्ट्रिय स्तरका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिलाउनेछ । जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरे भन्छन्, “उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा नगरी खेलको विकास सम्भव हुँदैन। यो नयाँ खेलाडीहरूका लागि सिक्ने सुनौलो अवसर हो।” प्र
तियोगितामा १०० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । इच्छुकले जेठ २३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । प्रतियोगिता स्विस लिग प्रणालीमा ७ चरणमा खेलिनेछ, जसमा प्रत्येक खेलाडीलाई १० मिनेट समय र हरेक चालमा १० सेकेन्ड इन्क्रिमेन्ट दिइनेछ ।
प्रतियोगिताका उत्कृष्ट २९ खेलाडीलाई १ लाख १९ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रदेश विजेताले २० हजार, दोस्रो स्थान हासिल गर्नेले १० हजार, तेस्रो स्थान हासिल गर्नेले सात हजार, चौथो स्थान हासिल गर्नेले छ हजार, पाँचौँ स्थान हासिल गर्नेले पाँच हजार र छैटौँदेखि दशौँ स्थानसम्म हासिल गर्नेले जनही चार हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै भेट्रान्स च्याम्पियन, फरक क्षमता भएका खेलाडी र प्रदेश उत्कृष्ट अनरेटेड खेलाडीले चार/चार हजार रुपैयाँ पाउनेछन् ।
विद्यालय तह प्रदेश विजेताले तीन हजार दोस्रोले दुई हजार, हिल्स च्याम्पियन प्रथम हुनेले नगद चार हजार, दोस्रो हुनेले तीन हजार, प्रदेश यु–१६ च्याम्पियन (पुरुष/महिला)ले जनही दुई हजार पाँच सय, इलाम च्याम्पियन प्रथमले चार हजार, दोस्रोदेखि पाँचौँ स्थानसम्म हासिल गर्नेले जनही दुई हजार रुपैयाँ पाउनेछन् ।
बुद्धिचाल खेललाई क्लासिकल, र्यापिड र ब्लिट्ज गरी तीन प्रकारमा वर्गीकरण गरिन्छ। यो प्रतियोगिता र्यापिड चेस विधामा हुने भएकाले छिटो निर्णय क्षमता, रणनीति र समय व्यवस्थापनमा खेलाडीहरूलाई थप चुनौती रहनेछ ।
आयोजकले इलामबासी तथा बुद्धिचाल प्रेमीहरूलाई प्रतियोगिता हेर्न र खेलाडीहरूलाई उत्साह दिन आग्रह गरेका छन् ।