लोकतन्त्र: अपेक्षा, र उपलब्धि विषयक संवाद कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईयो

  नयाँ बुलन्द
126 Shares

इलाम : गैरसरकारी संस्था महासंघ नेपाल इलाम, मानव अधिकार मन्च इलाम र मानव अधिकार एलायन्सको आयोजनामा इलाममा १९ औं लोकतन्त्र दिवस मनाईएको छ ।

‘लोकतन्त्र: अपेक्षा, र उपलब्धि’ विषयक संवाद कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेतले विभेद अन्त्य गर्न लोकतन्त्र महत्त्वपूर्ण रहेको बताए । उनले अरुलाई दोष देखाएर उम्किने प्रयास नगरी नकारात्मक सिद्दान्तलाई विस्थापन गर्न आवश्यक रहेको बताए ।

‘अहिले लोकतन्त्रमा देखिएको कमीकमजोरी र चुनौतिहरुलाई हेरेर अघि बढ्नुपर्ने बेला आएको छ  । यो लोकतन्त्र दिवसले हामिले यो राष्ट्र बनाउन, जोगाउन प्रेरणा प्राप्त होस्’ उनले भने ।

नेपाली काङ्ग्रेस इलाम सचिव निरोज खड्लोगीले लोकतन्त्र आएको १९ वर्ष पुग्दा पनि जनताहरुमा निराशा छाउनु भनेको दु:खद कुरा रहेको बताए । अहिले जताततै वितृष्णा फैलाउने काम भईरहेकाले यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । अब लोकतन्त्रले ल्याएको उपलब्धिको बारेमा चर्चा गर्न आवश्यक रहेको छ साथै अब नयाँ पुस्ताले अवसर पाउनुपर्ने बताउदै अगाडि बढे जनतामा आशा आउने बताए ।

नेकपा माओवादी केन्द्रका प्रवास शर्माले पछिल्लो समय आन्दोलन गरिरहेका युवाहरुले आफ्नो पितापुर्खाले राजतन्त्रले गरेको दमन नदेखेको साथै लोकतन्त्रले ल्याएको उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्नुले गम्भीर प्रश्न सिर्जना गरेको बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने समेत बताए । साथै, उनले सरकारले कार्यक्रम नगरेको बेला कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

नेकपा एमाले इलाम उपाध्यक्ष उदयबहादुर राईले लोकतन्त्रको उपभोग सही ढंगले नभएकाले युवाहरुमा वितृष्णा छाईरहेको बताए । उनले अब लोकतन्त्रलाई बलियो बनाउन सबैले आफ्नो कमजोरीलाई स्विकार्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सोनु मुखियाले देशमा शुसासन, शान्तिको लागि यो लोकतन्त्र आएको भएपनि जनताले चाहेको जस्तो नभएको बताइन् । उनले पछिल्लो समय जनतामा छाएको निराशातर्फ गम्भीर भएर लाग्न आवस्यक भएको बताईन् ।

कार्यक्रमको समापन सत्रमा बोल्नुहुदै कार्यक्रमका अध्यक्ष भक्त थामीले पछिल्लो समय लोकतन्त्रप्रतिको वितृष्णा देखिरहदा त्यसलाई स्विकार्दै अघि बढनु र आफू सच्चिनुपर्ने आवश्यक रहेको बताए ।

उनले लोकतन्त्रले ल्याएको उपलब्धिलाई आधारभूत तहमा गएर चर्चा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन गैरसरकारी संस्था महासंघका सचिव मनकुमार बराईलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार