असोजको महिना । यसपालीको दशै विदामा म ताप्लेजुङ ओलाङ्चुङगोलातीरको भ्रमणमा छु । सेन्जेमा फेदीमा रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । विहान म उठदा गोठका आपाआमा पालभित्र आगो तापीरहेका थिए । साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका रहेछन् । आज हाम्रो गोठमा लक्ष्मीको वास भयो भन्दै याङ्गजी आमाले भोटे चिया पिलाउनु भयो ।
बाहिर वरीपरी घामको किरण पर्न थाल्यो । हामीलार्इ जतिसक्दो चाडो सेन्जेमा ताल पुग्ने हतारो । विहानको चिया पछि हाम्रा पथप्रदसक साम्दे शेर्पा भाइको पछि लाग्यौ । तालजाने बाटो भरी बुकी – सुनपाती- भैरुङपाती जस्ता बनस्पती फूलेका छन् । काञ्जा थुम्कीको डाडाँमा पुदा चारैतिर हिउँको पहाडले घेरीएको सुन्दर सानो सेन्जेमा उपत्यका देखियो । समुन्द्र सतहबाट ४२०० मीटरको उचाइमा रहेको सेन्जेमा उपत्यकामा मानव बस्ती नभए पनि घाँसे मैदान देख्दा मन प्रफुल्छ छ । हामी हरियाली घाँसे मैदान तिर लम्की रहेका थियौ । घाँसे मैदानमाथी चौरी र जंगली घोरल – मृग आदीले गोब्राएका बासी गोबरका थुप्रो ठाउँठाउँमा छन् । विहानको घाममा पनि हामीलार्इ जाडो महसुस भइरहेको छ । हिमाली दिसाबाट चिसो कठान्ग्रीङे हावा सेन्जेमा खोलातिर बहिरहेको छ । घरी घरी हावाको वेगले टोपी – गलबन्दी उडाउला जस्तो हुने । चारैतिर हिमाल र हिउँ टल्केर आँखै टिप्ला जस्तो हुने । यसै क्रममा उपत्यकाको खोला छेउमा निकै ठूलो अजङ्गको ढुङ्गा देखे । ढुङ्गालार्इ हिउँले पुरेर होला घोप्टीएको डोको जस्तो देखिने । ढुङ्गामाथी ध्यान मुद्रामा एक्लो मानिस घाम तापेर बसिरहेको छ । मैले सानोमा यसरी साधुसन्त एवं लामाहरु ध्यान गर्न एकान्त सुनसान हिमाली ठाउँतिर जान्छ रे भन्ने सुनेथे । सामान्य मान्छेको ज्यान भन्दा निकै ठूलो देखिरहेको छु । ध्यान मुद्रामा बसेका साधुको कालो लामो कपाल र हातमा बोकेको सेतो झन्डा फरफराइ रहेको छ । हाम्रो संस्कार सँस्कृति अनुसार साधु सन्तको दर्शन गरेपछि फुलपाती चढाउने प्रचलन छ । त्यसैले ताल जाने अरु साथीहरुलार्इ म विस्तारै आउदै गर्ने इसारा गर्दै साधु बसेको ढुङ्गा तिर लागे । साँधु एकोहोरो ध्यान मुद्रामा उत्तर फर्केर बसेको छ । अनकन्टार एकान्तको ढुङ्गामाथी कालो लुकुनी ओढेर हल न चल भएर साँधु बसी रहेको छ । म साधु बसेको ढुङ्गाको नजिक मात्र के पुगेका थिए माथी डाँडाबाट अतालिन्दै साम्दे भाइले ढुङ्गातिर नजान इसार गर्दै बोलाए । उनको इसारामा साहारा मिलाउदै डाँडामाथीबाट अरुले पनि सोक्पा-सोक्पा भने जस्तो सुने । यसो भनेको सुन्दा म त झसङ्ग भए । सोक्पा भनेको लिम्बू भाषामा वन मान्छे हो । वन मान्छे हिमालतिर बस्छन् । मान्छे देख्दा उल्टो ढाड फर्काएर बस्छन् । अन्तमा मान्छे खान्छन् भन्ने कथा सुनेथे । मनमा चिसो पस्यो अनि त झन आङ्ग फूलेर आयो । चिसोमा ढुकढुकी झन झन बढ्न थाल्यो । यतिकैमा त्यो अजङ्गको लामो कपाल र लुकुनी बर्कोले मलाइ घर्लप्पै छोपे जस्तो लाग्यो । अनुहार नचिनिने गरी पूरै कालो कपडाले बेरीएको । यस्तो देख्दा मेरो होस हवास नै नभए जस्तो भयो । म हल न चल भएर ठिङ्गै उभीरहे । यतिकैमा हङ्याङ्ग र फङ्गस्याङ गर्दै साम्दे भाइ मलाइ समहाल्न आइपुगे । यसरी एक्लै दुक्लै यस्तो बेला हिडनु हुदैन उनले भने । यसरी हिडे यसले सातो खान्छ- सातो गए मर्न सकिन्छ भन्दै मेरो हात समाएर उकालोमा तानिरहे । म डरले लगलग कापी रहेका थिए । बोल्न सकिरहेको थिइन । हामी साथमै छौ कति सारो डराएको भन्दै साथीहरुले मलार्इ जिस्काइरहे । मेरो मनमा डरले अझै ठाउँ छोडेकै थिएन ।
करिब आधा घन्टा पछि मन शान्त भयो । यस बीचमा साम्दे भार्इलार्इ सोधे के त्यो सोक्पा नै हो ? सोक्पा यति ठूलो र डरलाग्दो हुन्छ ? यतिकैमा साम्दे भाइले यो त चितुवा भगाउने मान्छे हो भने । कस्तो मान्छे हो मैले सोधे । उसले भन्यो – चौरी खान हिमालबाट हिउँचितुवाहरु गोठतिर झरिरहन्छ । चौरी नखाओस भनेर चितुवा तर्साउने मान्छे बनाएर अस्ती रिन्जी आपाले राखेको । यसो भन्दा अरु साथीहरुले पहाडको बुख्याचा यस्तै हुन्छ कि क्या हो ? भने । खासमा बुख्याचा खेतबारी वा अन्य स्थानमा पशुपंक्षि तर्साउनको लागि राखिने मानव आकारको पुत्ला हो। यो खेतबारीमा लगाएको बालिनालीलाई बिभिन्न जनावर तथा चराचुरुङ्गीहरूबाट बचाउनको लागि राख्ने गरिन्छ। प्राय जसो बुख्याचालाई पुराना लुगाकपडाहरू लगाइ मानिस जस्तै देखिने गरी बनाइने गरिन्छ। साम्दे भाइको बुवा रिन्जी आपाले पनि भेडाको लुकुनी सहितको हिउँचितुवा तर्साउन यस्तो मानव पुत्ला बनाएका हुन । सेन्जेमा क्षेत्र दुर्लभ हिउँ चितुवा पाउने उपत्यका रहेछ । गत साल हिउँ चितुवाले दुर्इवटा चौरीका बाछाबाछी खाइदिएछन् । हामी बौद्दमार्गी भएकोले हिंसा गर्दैनौ । चितुवा तर्साउन सोक्पा जस्तो मानव पुत्ला बनाउछौ । यो देखेर होला यसपाली चितुवा गोठतिर आएको छैन । यसो गर्दा दुर्लभ हिउँचितुवाको पनि संरक्षण हुने मनोबैज्ञानिक विधि देखेर खुशी लाग्यो । मैले हिउचितुवा तस्वीरमा मात्र देखेको थिए । हिमाली क्षेत्रमा पाइने यस प्रजातीको जनावर हाल दुर्लभ अवस्थामा रहेको छ । यसको संरक्षण सम्बर्दन गरी पारिस्थिकिय प्रणालीलार्इ स्वीकार्दै बाँच र बचाऔ । यसरी नै सोक्पाको बुख्याचा र हिउँचितुवा सेन्जेमातिर देखिरहन पाउँ ।
हिउँ चितुवा (अङ्ग्रेजी: Snow Leopard) ठुलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइ बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही सङ्ख्या यकिन हुन सकेको छैन, ।पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग मा हिउँ चितुवा पाइने संरक्षणकर्मीहरु बताउछन् । नेपालमा ३०० देखि ५०० को सङ्ख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।
हाल जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आउदै गएको कारण हिउँ चितुवा लोप हुने अवस्थामा रहेको संरक्षणकर्मीहरुले बताउदै आएका छन् ।